मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल नेपालको टी-२० राष्ट्रिय टिममा पनि समावेश भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई आजदेखि सुरू हुने टी-२० त्रिकोणात्मक सिरिजका लागि टिममा समावेश गरेको हो। यसअघि उनी नेपालको एकदिवसीय टिममा पनि समावेश थिए।
रोहितले शनिबार सकिएको पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए।
खेलमा रोहितले १२६ रन जोडेका थिए। त्यसका लागि उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।
रोहितले शतकसहित नेपालका लागि एकै इनिङ्ग्समा सर्वाधिक रन जोड्ने कीर्तिमान बनाएका थिए।
एकदिवसीय खेलमा एक शतक र चार अर्धशतक बनाएका उनी नेपालका लागि पाँच खेलमा ५० रन कटाउने पहिलो खेलाडी समेत बने।
रोहित नेपालका लागि एकदिवसीय खेलमा पाँच सय रन कटाउने पहिलो ब्याट्सम्यानसहित सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका थिए।
नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुँदैछ।
टी-२० सिरिजको पहिलो खेलमा नेपाल र पिएनजीबीच आज प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि मैदानमा मध्यान्ह १२:३० देखि सुरू हुनेछ।
टी-२० मा नेपाल र पिएनजीबीच पछिल्लो पटक सन् २०१५ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा पिएनजी ८ विकेटले विजयी भएको थियो।
नेपालको टी-२० टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी र रोहित पौडेल