नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले पिएनजीलाई १८४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ४३ रन जोडे। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।
तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो।
१२ ओभरमा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरसम्ममा प्रत्येक ओभरमा विकेट गुमाएको थियो। जसका कारण १६ ओभरमा नेपालले ६ विकेट गुमाउँदा १४१ रन जोडेको थियो।
१८ औं ओभरमा आउट भएका करण केसीले ७ बलमा १४ रन बनाए। उनले २ छक्का प्रहार गरेका थिए। सोमपाल कामी १ रनमै आउट भए।
अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए।
बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए।