आइपिएल २०२२ को चौथो खेलमा लखनउ सुपरजाइन्ट्स र गुजरात टाइटन्सबीच सोमबार प्रतिस्पर्धा भयो।
मुम्बईको ऐतिहासिक वानखाडे रंगशालामा भएको खेलमा गुजरातले ५ विकेटको रोमाञ्चक जित निकलायो।
जसमा राहुल टेवाटिया नायक सावित भए। उनले नटआउट ४० रन जोडे।
खेलमा लखनउका युवा ब्याट्सम्यान आयुश बदोनीले उत्कृष्ट ब्याटिङ गरे। उनले ४१ बलमा ५४ रन जोडे। जसमा ४ चौका र ३ छक्का समावेश छन्।
उनले आउट हुनुअघि हार्दिका पाण्ड्यासहित विपक्षी बलरविरूद्ध खुलेर ब्याटिङ गरेका थिए। १५ ओभरमा उनले गुजरातका कप्तान पाण्ड्याविरुद्ध उत्कृष्ट ब्याटिङ गरे। उनले सुरूवाती तीन बलमा एक छक्का र दुई चौका हिर्काए।
दिल्लीमा जन्मिएका २२ वर्षीय दायाँ हाते ब्याट्सम्यान बदोनी यसअघि भारतको यू-१९ टिममा थिए।
उनले सन् २०१८ को यू-१९ एसिया कपको फाइनलमा श्रीलंकाविरूद्ध २८ बलमा ५२ रन बनाएका थिए।
उनलाई यो सिजन लखनउले २० लाख भारूको न्यूनतम मूल्यमा टिममा भित्र्याएको थियो।
सन् २०२१ को जनावरीमा उनले दिल्लीबाट खेल्दै टी-२० मा डेब्यू गरेका थिए। उनले घरेलु टी-२० मा ५ खेलमा केवल ८ रन मात्र बनाउन सकेका थिए।
लखनउबाट खेल्नुअघि उनीसँग घरेलु टी-२० मा ५ खेलमा ८ रन बनाउनुबाहेक सिनियर स्तरमा अनुभव थिएन। उनले कुनै लिस्ट ए र पहिलो श्रेणीको क्रिकेट खेलेका थिएनन्।
यद्यपी उनले भारतको उमेर समूहका खेलमा भने राम्रो खेल देखाएका थिए। यू-१९ एसिया कपसहित उनले श्रीलंकाविरूद्धको युथ टेस्टमा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए। श्रीलंकाविरूद्धको युथ टेस्टमा उनले १८५ रन बनाएका थिए।