दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन हान्ने ब्याट्सम्यानको सूचीको शीर्ष स्थानमा उक्लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा मलेसियाविरूद्ध २१ रन बनाएका दीपेन्द्र नेपालका लागि सर्वाधिक रन हान्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन्।
उनले ३६ खेलको ३१ इनिङ्ग्स ब्याटिङ गर्दै कुल ८०३ रन जोडेका छन्।
यसअघि नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन हान्ने कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा थियो।
पारसले ३३ खेलको ३२ इनिङ्ग्स ब्याटिङ गर्दा कुल ७९९ रन जोडेका थिए।
पारस नेपालका लागि टी-२० मा पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने ब्याट्सम्यान हुन्।
दीपेन्द्रले भने अहिलेसम्म ३ अर्धशतक बनाउन सकेका छन्।
नेपालका लागि सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन्। ज्ञानेन्द्रले ४० खेलको ३४ इनिङ्ग्स ब्याटिङ गर्दा ७४८ रन जोडेका छन्।