नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले पिएनजीलाई २०४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रको यो चौथो टी-२० अर्धशतक हो। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे।
यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।
नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे। कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए।
रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।
बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप नाथलाई शून्यमा आउट गरे।
यसअघि नेपालले लगातार दुई खेलमा जित हात पारेको थियो। आजको खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ।
प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल शनिबार मलेसियासँग खेल्नेछ। प्रतियोगिताको फाइनल सोमबार हुनेछ।
को हुन् डेब्यू खेलाडी आदिल अन्सारी?
बारा सिम्रौनगढका अन्सारी गत मंसिरमा चर्चामा आएका खेलाडी हुन्। दायाँ हाते ब्याट्सम्यान अन्सारी आक्रामक ब्याटिङका कारण चर्चामा आएका थिए। उनी मध्यम गतिमा बलिङ समेत गर्छन्।
उनले यू-१९ राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिमविरूद्ध ४३ बलमा अविजित ८७ रन बनाएका थिए।
जसका कारण मधेश प्रदेश (तत्कालिन प्रदेश २) ले २ विकेटको जित निकालेको थियो। उनले ७ चौका र ६ छक्का प्रहार गरेपछि सुदूपश्चिमका आर्जुन साउदले सोहि खेलमा बनाएको शतक छायाँमा परेको थियो।
त्यसअघि उनले यू-१९ को क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। २३ बलमा ५० रन हानेपछि उनले प्रदेश टिमको ढोका खोलेका थिए।
राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै अन्सारी नेपालको यू-१९ राष्ट्रिय टिममा परे। युएईमा भएको यू-१९ एसिया कपमा तीन खेलमा ५७ रन जोड्दा ३ विकेट लिएका थिए। उनले प्रतियोगिता कुवेतविरूद्ध ४९ रन जोडेका थिए।
यू-१९ राष्ट्रिय टिममा परेसँगै उनी मधेशको सिनियर टिममा पनि पर्न सफल भए। मधेशको सिनियर टिमबाट प्रधानमन्त्री कप खेल्दा उनले एपिएफविरूद्ध ३५ रन जोडेका थिए।
राष्ट्रिय स्तरमा चर्चामा आउनुअघि अन्सारीले प्रदेश २ का स्थानीय प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। क्षेत्रीय स्तरमा उत्कृष्ट प्रदर्शनसँगै उनलाई राष्ट्रिय क्रिकेटर अनिलकुमार साहले सहयोग गरे।
‘अनिल दाइको सहयोगले यहाँसम्म आइपुगेको हुँ,’ यू-१९ प्रतियोगितामा सूदूरपश्चिमविरूद्ध आक्रामक इनिङ खेलेपछि उनले भनेका थिए।
पछिल्लो समय उनी अरू चार जना युवा क्रिकेटरसँगै भारतको बेंग्लोरमा दुई साताको हाइ पर्फमेन्स क्याम्पमा सहभागी हुन गएका थिए।