नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा शुक्रबार पिएनजीले जित हात पारेको छ।
पिएनजीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्यो। सिरिजमा पिएनजीले पहिलो जित हात पारेको हो।
यसअघि पिएनजीले सुरूवाती तीन खेलमा हार बेहोरेको थियो। अब भोलि नेपाल र मलेसियाबीच हुने लिग चरणको अन्तिम खेलको नतिजापछि फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ।
नेपालले सिरिजमा लगातार तीन खेलमा जित निकालेर फाइनलमा स्थान पक्का गरिसकेको छ। भोलिको खेलमा मलेसियाले जित हात पारे फाइनल पुग्नेछ। नेपालसँग मलेसिया पराजित भए पिएनजी फाइनल पुग्नेछ। फाइनल सोमबार हुनेछ।
शुक्रबार पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १९६ रन जोड्यो। उसका लगि कप्तान अहमद फाइजले ४३ बलमा ६३ रन र सायेद अजिजले ३५ बलमा ६४ रन जोडे।
बलिङमा पिएनजीका कबुआ मोरिआले ४ विकेट लिए।
१९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। पिएनजीका लागि टोनी उराले ३४ बलमा ८६ रन जोडे। उनले २ चौका र १० छक्का प्रहार गरे।
कप्तान असद भालाले नटआउट ७४ रन जोडे। उनले ५१ बलमा ७४ रन जोड्न ८ चौका र १ छक्का हिर्काए।