दोस्रो जित निकाल्दै कोलकत्ता नाइट राइडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।
शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित निकालेको हो।
पन्जाबले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य कोलकत्ताले १४. ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि आन्द्रे रसेलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ खेले। मात्र ३१ बल खेलेका उनले ८ छक्का र २ चौका प्रहार गरे।
यस्तै कप्तान श्रेयस अय्यरले २६ रन जोड्दा साम विलिङ्सले अविजित २४ रन बनाए।
पन्जाबका राहुल चाहरले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रन बनाएको थियो।
पन्जाबका लागि भानुका राजपाक्षेले सर्वाधिक ३१ रन जोड्दा कागिसो राबडाले २५ रन जोडे ।
लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए। राज बावाले ११ रन बनाउँदा कप्तान मायांक अग्रवाल १ रनमा आउट भए ।
कोलकत्ताका उमेश यादवले ४ विकेट लिए। टिम साउथीले २ विकेट हात पारे।
जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ।
पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा बैंगलोरसँग पराजित भएको थियो।
पन्जाबको यो पहिलो हार हो। पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो।