नेपाली टिमका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। त्रिवि मैदानमा शनिबार उनले मलेसियाविरूद्ध शतक प्रहार गरेका हुन्।
दीपेन्द्रले नटआउट ११० रन जोडे। उनले ५७ बलमा १० चौका ६ छक्का प्रहार गरे। यो नेपाली ब्याट्सम्यानले टी-२० प्रहार गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो।
यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए।
नेपालको यो टी-२० मा चौथो शतक हो। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी-२० मा शतक हिर्काएका थिए।
अघिल्लो साता एकदिवसीय खेलमा शतक प्रहार गरेका दीपेन्द्रले टी-२० पहिलो शतक हिर्काए।
दीपेन्द्रको सानदार शतकमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २२३ रन जोड्यो।
यो नेपालले टी-२० मा बनाएको तेस्रो ठूलो स्कोर हो। यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ र भुटानविरूद्ध २३६ रन जोडेको थियो।
नेपालका लागि दीपेन्द्रसँगै रोहित पौडेलले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ३४ बलमा ५१ रन जोड्ने क्रममा ५ चौका हिर्काए।
आदिल अन्सारीले ९ बलमा १४ रन, कुशल भुर्तेलले १२ रन, आसिफ शेखले १८ रन र आरिफ शेखले २ रन जोडे।
नेपाल, मलेसिया र पपुवा न्युगिनीको टी-२० सिरिजमा नेपाल यसअघि नै फाइनल पुगिसकेको छ। मलेसियालाई फाइनल पुग्न नेपाललाई हराउनु पर्ने दबाब छ। मलेसिया पराजित भए पपुवा न्युगिनी फाइनल पुग्नेछ। फाइनल आगामी सोमबार हुनेछ।