नेपाली टिमका महत्वपूर्ण सदस्य एवं पूर्व उप-कप्तान दीपेन्द्रसिंह ऐरी नयाँ कीर्तिमान नजिक छन्।
उनी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रियमा १ हजार हजार रन पूरा गर्ने कीर्तिमान नजिक छन्।
ऐरीले हालसम्म ३८ खेलको ३३ पारीमा १ सतक र चार अर्धसतकसहित नेपालका लागि सर्वाधिक ९७९ रन बनाएका छन्।
यस क्रममा उनले ७८ वटा चौका र ३२ वटा छक्का प्रहार गरेका छन्।
राजधानीमा जारी मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपालले पिएनजीको सामना गर्दैछ। यदि सोमबार उनले २१ रन बनाए भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्नेछन्।
यो सँगै २२ वर्षीय ऐरी नेपालको तर्फबाट यो प्रारूपमा सर्वाधिक रन बनाउने ब्याटर हुनेछन्।
हालसम्म नेपालका तर्फबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो नम्बरमा पूर्व कप्तान पारस खड्का छन्। ७९९ रन बनाएका खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्।
यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७४८ रन बनाएका छन्। चौथो नम्बरमा रहेका कुशल भुर्तेलले हालसम्म १५ खेलबाट ५४८ रन जोडेका छन्।
यस्तै दीपेन्द्रसिंह ऐरीले यो वर्ष टी–२० मा सर्वाधिक रन बनाउने मामलामा शीर्ष स्थानमा छन् ।
उनले १२ खेलको ११ पारीमा तीन अर्धशतक र एक शतकसहित सर्वाधिक ६२.७५ औसतमा ५०२ रन बनाएका छन्। जसमा ऐरीको उच्च स्कोर अविजित ११० रन रहेको छ । उनले यो वर्ष ४१ चौका र १७ छक्का प्रहार गरेका छन्।
त्यस्तै, २०२२ मा टी–२० मा सर्वाधिक रन बनाउने मामलामा यूएईका मोहम्मद वसिम दोस्रो स्थानमा छन्। उनले ८ खेलमा एक शतक र तीन अर्धशतकसहित ३५९ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा वेष्ट इण्डिजका निकोलस पूरन छन्। उनले ८ खेलमा चार अर्धशतकको मद्दतमा ३४८ रन बनाएका छन्।
यूएईका वृत्त अरविन्द चौथो नम्बरमा आउँछन् । उनले सात पारीमा तीन अर्धशतकको सहयोगमा ३३६ रन बनाएका छन्।
यस्तै सूचीको पाँचौं स्थानमा नेपाली टिमका प्रारम्भिक ब्याटर कुशल भुर्तेल छन्। उनले २०२२ मा १० खेलमा एक शतक र एक अर्धशतकसहित २७० रन बनाएका छन्। जसमा कुशलको उच्च स्कोर अविजित १०४ रन हो।