नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्गत उपाधि भिडन्तमा नेपालले पिएनजीलाई १६९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन जोड्यो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले नटआउट ५४ रन जोडे। टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका हिर्काए।
करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थियो।
नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए।
रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन्।
आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।
नेपालले १२औं ओभरमा तीन विकेट गुमाएको थियो। आसिफ पहिलो बलमा आउट भएका थिए। तेस्रो बलमा आरिफ शेख र पाँचौ बलमा दिलीप नाथ शून्यमा आउट भए। यो ओभरमा पिएनजीका सेमो कामिआले पाँच बलको अन्तरमा तीन विकेट लिएका थिए भने कुनै रन दिएनन्।
सेमोविरूद्ध पहिलो ओभरमा नेपालका ओपनर कुशल भुर्तेलले ३ चौकासहित १३ रन जोडेका थिए।
१६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रनमा आउट भए। उनले १३ बलमा १ चौका र १ छक्का हिर्काए।