न्युजिल्यान्ड क्रिकेट टोलीका ब्याटर रोस टेलर आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेटमा भावुक भएका छन्।
टेलरले घरेलु मैदानमा सोमबार नेदरल्यान्ड्सविरुद्व आफ्नो अन्तिम एकदिवसीय शृंखला खेले। यसअघि नै उनले यो सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भनेर सन्यासको घोषणा गरेका थिए।
नेदरल्याण्डविरूद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता सुरू हुनु अघि राष्ट्रिय गीत बजेलगत्तै उनले आँशु थाम्न सकेनन्।
लामो समयसम्म न्यूजील्याण्डको जर्सीमा तीनै फर्मेटमा खेलेका उनले अन्तिम वानडे खेल्नुअघि राष्ट्रिय गीत बज्दा आफ्ना तीन सन्तानसहित उभिएका थिए।
यद्यपी उनको अन्तिम खेल सम्झनलायक रहेन। १४ रन बनाएर खेलिरहेका उनलाई वेन बीकले आफ्नै बलमा आफैंले क्याच आउट गरे।
यो सँगै डेढ दशक क्रिकेटमा विताएका टेलरले आजबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछैनन्। यो १७ वर्षे क्रिकेट करियरमा उनले थ्रुप्रै कीर्तिमानहरू बनाइसकेका छन्।
३७ वर्षिय टेलरले न्युजिल्यान्डबाट १ सय १२ टेस्ट, २३६ एकदिवसीय र १०२ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेले।
‘राष्ट्रबाट प्रतिनिधित्व गर्न पाउँदा आफूलाई भाग्यशाली भएको अनुभूती गरेका छु । यो निकै उत्कृष्ट यात्रा रह्यो । आज म घरेलु मैदानमा हुने शृंखलापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गर्दैछु,’ टेलरले भने, ‘१७ वर्षसम्म समर्थन गर्ने सम्पूर्णमा धन्यवाद।’
टेलरले सन् २००६ को मार्चमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीयबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। अन्तिम खेलन नेदरल्याण्डविरूद्ध खेले। यस क्रममा उनले २१ सतक र ५१ अर्धसतकसहित ८ हजार ६ सय ७ रन बनाए। १८१ सर्वाधिक रन बनाएका उनले ४७.५५ औसतमा ८२.३२ स्ट्राइक रेटमा खेले।
यस्तै सन् २००७ को नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय टेस्ट खेलेका उनले यसै वर्षको जनवरीमा बंगलादेशविरूद्ध अन्तिम टेष्ट खेलेका थिए। यस क्रममा उनले ११२ खेलबाट १९६ इनिङ्स खेल्दै ७ हजार ६ सय ८३ रन बनाए।
यस क्रममा उनले १९ सतक र ३५ अर्धसतक बनाएका थिए। उनले टेस्टमा सर्वाधिक २९० रन बनाएका थिए।
यस्तै सन् २००६ मा श्रीलंकाविरूद्ध पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलेका उनले अन्तिम टी ट्वान्टी वेष्टइन्डिजविरूद्ध सन् २०२० नोभेम्बरमा खेले। यस क्रममा उनले ७ अर्धसतकसहित १९०९ रन बनाए।