आवेश खानको उत्कृष्ट बलिङमा नवप्रवेशी लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि १२ रनको रोमाञ्चक जित हात पारेको छ ।
१ सय ७० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो। हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ४४ रन बनाए।
निकोलस पुरनले ३४ रन बनाउँदा अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। अभिषेक शर्मा १३, एडेन माक्ररम १२, केन विलियम्सन १६, वासिन्टन सुन्दर १८ र रोमरियो शेफर्ड ८ रनमा आउट भए।
हैदराबादलाई जितको लागि अन्तिम १८ बलमा ३३ रन चाहिएको थियो। हातमा ६ विकेट थियो। तीव्र गतिका बलर आवेश खानको १८ औं ओभरको पहिलो बलमा पूरनले छक्का प्रहार गरे। दोस्रो बल डट गरे। तेस्रो बलमा पुरन लङअफमा दीपक हुडाबाट क्याच आउट भए। लगत्तै अर्को बलमा अब्दुल सामद विकेटकिपर क्विन्टन डि ककबाट आउट भएपछि लखनऊ खेलमा फर्किएको थियो। हैदराबादले अन्तिम १७ बलमा १४ रन जोड्दै ५ विकेट गुमाएपछि जित नजिक पुगेर हारेको हो ।
लखनऊका लागि आवेश खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। जेसन होल्डरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। उसका लागि लोकेश राहुलले सर्वाधिक ६८ रन बनाए । मध्यक्रमका दीपक हुडाले ५१ रन जोडे।
खराब सुरुवात गरेको लखनऊलाई चौथो विकेटको लागि हुडा र राहुलले ८७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।
आयुष बदोनीले १९, मनिष पान्ड्याले ११, जेसन होल्डरले ८ र क्रुनाल पान्ड्याले ६ रन बनाए। ओपनर क्विन्टन डि कक र एविन एविस १–१ रनमा आउट भएका थिए।
हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। रोमारियो शेफर्डले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रनले पराजित भएको थियो। हैदराबादले अव शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।
लखनऊ पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको लखनऊ अब बिहीबार दिल्ली क्यापिटल्ससँग चौथो खेल खेल्नेछ।
यो जितसहित लखनऊ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। शीर्ष ५ टोली सबैको समान ४-४ अंक भए पनि लखनऊ नेट रनरेटका आधारमा पछि परेको हो।