विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरू भएको छ।
विराटनगर-१९ मा रहेको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन्।
बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो।
विराटनगरका लागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे। उनले ५६ बलमा ४ चौका प्रहार गरे।
त्यस्तै, साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे। झापाका प्रेम सिंह र विशाल आर्चायले २-२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १-१ विकेट लिए।
१ सय २३ रनको सामान्य लक्ष पाएको झापा १७ दशमलव ४ बलमा सबै विकेट गुमाई ८६ रनमा सीमित भयो। झापाका लागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बनाए।
विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए। उनले एक मेडन राख्दै १३ रन दिए।
लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए।
दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियो। राजविराजका लागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए।
रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे। इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १-१ विकेट लिए।
१ सय २१ रनको लक्ष पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सीमित भयो। इनरुवाका लागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए। राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५ विकेट लिँदा मेहबुव आलम र अजय यादवले २-२ विकेट लिए।
प्रतियोगितामा प्रदेशऔ१ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेस प्रदेसको वीरगञ्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र राजविराज नगरकालिका सहभागी भएका छन्।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफी तथा उपविजेताले नगद ५१ हजार ट्रफी पाउने छन्।
६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाइएको छ। समूहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुग्ने छन्। चैत २६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च हुने आयोजकले जनाएको छ।
बुधबारको पहिलो खेल वीरगञ्ज र मेची र दोस्रो खेल इनरुवा र जनकपुरबीच खेल हुने आजोजकले जनाएको छ।