भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल्स च्यालेन्जर्स बैंगलोरले दोस्रो जित निकालेको छ।
मंगलबार राति मुम्बईस्थित वानखडे रंगशालामा भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ विकेटको हराएको हो।
राजस्थानले दिएको १७० रनको लक्ष्य बैंगलोरले १९. १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
बैंगलोरका लागि साहबाज अहमेदले सर्वाधिक ४५ रनको योगदान गरे। विकेटकिपर दीनेश कार्तिक २३ बलमा ७ चौका र १ छक्कासहित ४४ रनमा अविजित रहे। हर्षल पटेल ९ रनमा अविजित रहे। त्यसअघि कप्तान फाफ डू प्लेसिले २९ रन जोड्दा अनुज रावतले २६ रन जोडे।
बेंगलोरका लागि ओपनरद्वय कप्तान फाफ डु प्लेसिस र अनुज रावतले ७ ओभरमा ५५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए।
यसबाहेक विराट कोहली र शेर्फान रदरफोर्ड ५-५, डेविड विल्ली शून्य रनमा आउट भए।
बलिङतर्फ राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहालले दुई–दुई तथा नवदीप सैनीले एक विकेट लिए।
स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । नवदीप सैनले ३ ओभरमा ३६ रन खर्चिएर १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो।
राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए। ४७ बलमा ६ छक्कासहित उनी अभिजित रहे।
त्यस्तै सिमरोन हेटमायरले ४२ रन जोड्दा देभदत्त पाडिकलको नाममा ३७ रन रह्यो।
बलिङतर्फ बैंगलोरका लागि डेभिड विले, वानिन्दु हर्शरंगा र हर्शल पटेलले एक–एक विकेट लिए।
जितसँगै छैठौं स्थानमा पुगको बैंगलोरले ३ खेलबाट ४ अंक जोडेको छ। पराजित राजस्थान ३ खेलबाट समान ४ अंक जोड्दै नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ।