पाकिस्तानसँगको एकमात्र टी २० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियाले अन्तिम ओभरमा ३ विकेटको जित निकालेको छ।
जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले सर्वाधिक ५५ रन बनाए। ४५ बल खेलेका उनले ६ चौकासहित अर्धसतक पुरा गरे। ओपनर ट्रविस हेडले १४ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोड्दा जोश इंश्लिस २४, मार्कस स्टोइनिस २३ र बेन म्याकडेर्मोट २२ रन बनाए।
पाकिस्तानका शाहिन शाह अफ्रिदी, उस्मान कादिर र मोहम्मद वासिम जुनियरले समान २–२ विकेट लिए ।
त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाए। ४६ बल खेलेका उनले ६ चौका र २ छक्कासहित अर्धसतकीय इनिङ्स खेले।
यस्तै खुसदील शाह २४, मोहम्मद रिजवान २३, उस्मान कादिर १८, इफ्तिखर अहमदले १३ रन बनाए।
अष्ट्रेलिया तीव्र गतिका बलर नाथन एलिसले सर्वाधिक ४ विकेट लिए। डेब्यु खेल खेलेका क्यामरन ग्रिनले २ विकेट लिए। सिन अबोट र एडम जाम्पाले समान १-१ विकेट लिए।
योसँगै अष्ट्रेलियाको २४ वर्षपछि पाकिस्तान भ्रमण सकिएको छ। टेस्ट र टी २० सिरिज अष्ट्रेलियाले जित्दा ओडिआई भने घरेलु टोलीले जितेको थियो।
तीन टेस्ट खेलको सिरिज अष्ट्रेलियाले १–० ले जितेको थियो। सुरूका दुबै टेष्ट बराबरीमा सकिएका थिए। तीन ओडिआई खेलको सिरिज पाकिस्तानले २–१ ले जितेको थियो।