विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा जारी प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिता बुधबारको खेलमा वीरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन्।
बुधबार भएको पहिलो खेलमा वीरगञ्ज र जनकपुर विजयी भएका हुन्। पहिलो खेलमा वीरगञ्जले झापाको मेचीनगर नगरपालिकालाई ८ रनले पराजित गरेको छ।
झापा लगातार दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ। झापा समूह बी को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो।
यो समूहबाट वीरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ। विराटनगर र वीरगञ्जबीच समूह बिजेताका लागि बिहीबार लिगको अन्तिम खेल हुने छ।
टस जितेर ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो।
वीरगञ्जका लागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे। पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे। झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आर्चायले पनि २ विकेट लिए।
१ सय २९ रनको लक्ष पाएको झापाले पूरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउन सक्यो।
झापाका लागि सुवाङ उरावले अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेले अविजित २६ रन बनाए। वीरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारीले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए।
दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ। जनकपुर एक खेलअगाबै सेमिफाइनलमा पुगेको छ। लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ। समूह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफानलमा प्रवेश गरेको छ।
टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियो।
इनरुवाका लागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए। जनकपुरका साइमन राय र हरिशंकर साहले समान २-२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १-१ विकेट लिए।
१ सय १२ रनको सामान्य लक्ष पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष भेट्टाएको थियो। जनकपुरका लागि म्यान अफ म्याच हिमांशु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित भए। इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १-१ विकेट लिए।
प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेस प्रदेशको वीरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागी भएका छन्।
६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाइएको छ। समूहको टप दुई टिम सेमिफाइनलमा पुग्ने छन्।
बिहीबारको पहिलो खेल जनकपुर र राजविराज र दोस्रो खेल आयोजक विराटनगर र वीरगञ्जबीच हुने आजोजकले जनाएको छ।