विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा जारी प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको राजविराज नगरपालिका र वीरगञ्ज महानगरपालिका विजयी भएका छन्।
बिहीबार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो। यसअघि खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।
पहिलो खेलमा राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ। राजविराज समूह ‘ए’को बिजेता भएको छ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो। राजविराजका लागि म्यान अफ द म्याच विकास दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरी २३ रनबनाउँदा अमित यादवले १४ रन र अभिशेक कार्कीले १३ रन बनाए। जनकपुरका हरिशंकर साहले ३ विकेट लिँदा साइमन रायले २ विकेट लिए।
८२ रनको झिनो रनको लक्ष पाएको जनकपुरले पूरै ओभर खेल्दै ७ विकेट गुमाई ७५ रनमा सीमित भयो। जनकपुरका लागि अकबर अलिले ३९ रन जोड्दा हिमांशु दत्तले १३ रन जोडे। राजविराजका विवेक यादवले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा बलर मेहबुब आलम, अनिल यादव र रोहित सिंहले १-१ विकेट लिए।
दोस्रो खेलमा वीरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको छ। जितपछि वीरगञ्ज समूह ‘बी’को बिजेता हुँदै सेमिफानलमा प्रवेश गरेको छ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रामक ब्याटिङमार्फत् निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियो। विराटनगरका लागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार ४५ रन बनाउँदा दीपक पासवानले २८ रन बनाए। वीरगञ्जका कागि इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए।
१ सय ४५ रनको विशाल लक्ष पाएको वीरगञ्जले १७ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो। वीरगञ्जका लागि म्यान अफ म्याच तीर्थराज दासले ४० बलमा २ टक्का र ४ चौका प्रहार गर्दै ५२ रनको ठोस इनिङ खेले।
त्यस्तै, सोनु अन्सारीले ३६ रन बनाए। विराटनगरका मुकुन्द यादवले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा मेहबुबबाबु इराकीले १ विकेट लिए।
प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरूवा नगरपालिका र मेची नगरपालिका तथा मधेस प्रदेशका वीरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागी छन्।
शुक्रबारको पहिलो सेमिफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमिफाइनल खेल जनकपुर र वीरगञ्जबीच हुने आजोजकले जनाएको छ।