क्विन्टन डि ककको उत्कृष्ट ब्याटिङमा नवप्रवेशी लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित निकालेको छ।
यो जितसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
१ सय ५० रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो। लखनऊको जितमा क्विन्टन डि ककले सर्वाधिक ८० रन जोडे। स्पिनर कुलदीप यादवको १६ औं ओभरको अन्तिम बलमा शरफराज खानबाट क्याच हुनुअघि उनले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरे।
अन्तिम ६ बलमा जितको लागि लखनऊलाई ५ रन चाहिएको थियो । दीपक हुडा शार्दुल ठाकुरको पहिलो बलमा अक्षर पटेलबाट ११ रनमा क्याच आउट भए। दोस्रो बल आयुष बदोनीलाई डट राखे । तेस्रो बलमा बदोनीले चौका र चौथो बलमा एक्स्ट्रा कभरमा छक्का प्रहार गर्दै खेल सकाए।
बदोनी ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे। क्रुनाल पान्ड्या १४ बलमा १ छक्कासहित १९ रनमा अविजित रहे।
ओपनर तथा कप्तान लोकेश राहुल २५ बलमा १ चौका र १ छक्कासहित २४ रनमा आउट भए।
दिल्लीका कुलदीप यादवले २ विकेट लिए । शार्दुल ठाकुर र ललित यादवले १-१ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो।
दिल्लीका लागि ओपनर पृथ्वी शाले अर्धसतकीय पारी खेले। उनले ३४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए। यस्तै कप्तान ऋषभ पन्त ३९ रनमा अविजित रहे। शरफराज खान ३६ रनमा अविजित रहे। ओपनर डेविड वार्नर १२ बलमा ४ रनमा आउट भए।
लखनऊका लेग स्पिनर रवि विश्रोईले २ विकेट लिए । स्पिनर कृष्णाप्पा गोथमले १ विकेट लिए।
लखनऊले शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ । दिल्लीले आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ।
जारी लिगमा कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ। नेटरनरेटमा पछि परेको लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ।
राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ।
गुजरात राइटन्स दुई खेलमा २ मा नै जितका साथ चौथो स्थानमा छ । समान ४ अंकका साथ पन्जाब पाँचौं र बेंगलोर छैटौं स्थानमा छन्। दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ।
अंक विहीन चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद क्रमश : आठौं, नवौं र १० औं स्थानमा छन्।