भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्समाथि ६ विकेटको रोमान्चक जित निकाल्दै नवप्रवेशी दोस्रो स्थानमा उक्लिएको छ।
राहुल टेवाटियाले अन्तिम दुई बलमा १२ रन आवश्यक रहेको बेला लगातार दुई छक्का प्रहार गर्दै गुजरात टाइटन्सलाई रोमाञ्चक जित दिलाएका हुन्।
योसँगै आइपिएलमा अपराजित रहेको गुजरात लगातार तेस्रो जितका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो।
गुजरातलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिएको थियो।
पहिलो बलमा तीव्र गतिका बलर ओडेन स्मिथले वाइड फ्याल्दा दोस्रो बलमा हार्दिक पान्ड्या २७ रनमा रन आउट भए। दोस्रो बलमा राहुल ट्वाटियाले १ रन बटुलेपछि गुजरातको जित कठिन बनेको थियो। तर तेस्रो बलमा डेविड मिलरले डीप स्क्वायर लेगमा चौका प्रहार गर्दै आशा जोगाए।
अन्तिम ३ बलमा गुजरातलाई १३ रन चाहिएको थियो। चौथो बलमा एक रन जोडेपछि बाँकी दुई बलमा दुई छक्का आवश्यक परेको थियो। पाँचौं र छैठौं बलमा राहुल टेवाटियाले लगातार छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए।
१ सय ९० रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातको जितमा युवा ओपनर गिलले सर्वाधिक ९६ रन जोडे। टी ट्वान्टी करियरमा सर्वाधिक रन बनाउने क्रममा गिलले ५९ बल खेल्दै ११ चौका र १ छक्कासहित सतक पुरा गर्न चार रनले चुके।
यस्तै साई सुदर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पाण्ड्याले २७ रन बनाए।
ओपनर म्याथ्यु वेड ६ रनमै आउट भए पनि दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६८ बलमा १ सय १ रनको शतकीय साझेदारी गर्दै जितको आधार बनाएका थिए। डेब्यू खेल खेलेका सुदर्शनले ३० बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे। राहुल ट्वाटिया ३ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे ।
पञ्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहरले १ विकेट लिए।
त्यसअघि ब्रबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। पन्जाबका लागि लिभिङस्टोनले अर्धसतकीय पारी खेले। उनले २७ बलमा ७ चौका र ४ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेलेका थिए।
ओपनर शिखर धवनले ३५, जितिश शर्माले २३ रन बनाउँदा शाहरुख खान १५ र ओडेन स्मिथ गोल्डेन डक आउट भए। राहुल चाहर २२ रनमा अविजित रहे। कप्तान मयंक अग्रवाल ५ र जोनी बेयरस्टो ८ रनमा आउट भए। अर्शदीप सिंह १० रन जोडे।
गुजरातका लागि लेगस्पिनर राशिद खानले सर्वाधिक ३ विकेट लिए। यस्तै दर्शन नालकाण्डेले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र लोकी फर्गुसनले १–१ विकेट हात पारे।
गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्लीलाई १४ रनले हराएको थियो। गुजरातले अव सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।
यस्तै पन्जाबले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा कोलकातासँग ६ विकेटले पराजित भएको पञ्जाबले तेस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको थियो। पन्जाबले अब बुधबार मुम्बईसँग खेल्नेछ।
यो जितसँगै गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ। लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ। राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित चौथो स्थानमा छ।
बेंगलोर ३ खेलमा २ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैठौं स्थानमा छ। दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ। चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद अंक विहीन छन्।