चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै सनराइजर्स हैदराबादले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो जित निकालेको छ ।
यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ। जितका लागि १५५ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबादले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
हैदराबादको जितमा युवा ब्याटर अभिषेक शर्माले ५० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए। राहुल त्रिपाठी १५ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे। निकोलस पुरन २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे।
ओपनर केन विलियम्सन र अभिषेकले १२.१ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। विलियम्सनले ३२ रन जोडेर आउट भए।
चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १-१- विकेट लिए।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेकोक चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो।
चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए। अम्बाती रायुडूले २७, रविन्द्र जडेजाले २३, ओपनर रोविन उथप्पाले १५ र ऋतुराज गायकवाड १६ रन बनाएर आउट भए। शिवम दुबे र महेन्द्रसिंह धोनीले समान ३-३ रन जोडे।
हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २-२ विकेट लिए। भुवनेश्वर कुमार, मार्को ज्यानसन र एडेन माक्ररमले १–१ विकेट लिए।
चार पटकको च्याम्पियन चेन्नई यसअघि कोलकाता र लखनऊ सुपर जायन्ट्ससँग समान ६–६ विकेट तथा पन्जाबसँग ५४ रनले पराजित भएको थियो।
यता हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रन र दोस्रो खेलमा लखनऊसँग १२ रनले पराजित भएको थियो।
लिगको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोडेको छ। तीन खेलमा सतप्रतिशत जित निकालेको गुजरात नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ।
लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ। राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित चौथो स्थानमा छ।
बेंगलोर ३ खेलमा २ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ। पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैठौं स्थानमा छ। दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन्। ४ खेल खेलेको चेन्नई सुपर किंग्स र ३ खेल खेलेको मुम्बई इन्डियन्स अंकविहिन छन्।