रोयल च्यालेन्जर्स बेंगलोरले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित निकालेको छ।
१ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको बेंगलोरले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। बेंगलोरको जितमा डेब्यू गरिरहेका अनुज रावतले सर्वाधिक अर्धसतकीय इनिङ्स खेले। उनले ४७ बलमा २ चौका र ६ छक्कासहित ६६ रन बनाए।
यस्तै विराट कोहलीले ४८ रन बनाए। ३६ बल खेलेका उनले ५ चौकासहित ४८ रन बनाएर आउट भए।
कप्तान फाफ डु प्लेसिसले १६ रन जोड्दा दीनेश कार्तिकले २ बलमा ७ र ग्लेन म्याक्सवेलले २ बलमा ८ रन जोड्दै नटआउट रहे।
मुम्बईका जयदेव उनादकट र डेवाल्ड ब्रेभिसले १-१ विकेट लिए।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिले ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।
मुम्बईका लागि सूर्य कुमार यादवले सर्वाधिक अर्धसतकीय इनिङ्स खेले। उनले ३७ बल खेल्दै ५ चौका र ६ छक्कासहित ६८ रनमा अविजित रहे।
दुबै ओपनर ईशान किशन र रोहित शर्मा समान २६–२६ रनमा आउट भए। ईशानले २८ बल खेल्दै रोहितले १५ बल खेले। जयदेव उनादकटले १३ रन बनाउँदा डेवाल्ड ब्रेभिसले ८ रन नबाए। काइरन पोलार्ड र तिलक बर्मा दुबै शून्यमा आउट भए।
बेंगलोरका हर्षल पटेल र स्पिनर वानिन्दु हसरंगाले समान २-२ विकेट लिए। आकाश दीपले १ विकेट लिए।
यो सँगै बेंगलोर तेस्रो जितका साथ तेस्रो स्थानमा उक्लिएको छ। पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने सुरूवाती चारै खेलमा लगातार हार व्यहोरेको छ।
मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेट, दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रन र तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ५ विकेटले पराजित भएको थियो।
पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटको हार बेहोरेको बैंलोरले त्यसपछि लगातार तेस्रो जित निकाल्यो। दोस्रो खेलमा कोलकातालाई ३ विकेट र चौथो खेलमा राजस्थानलाई ४ विकेटले हराएको थियो।
कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ। नेट रनरेटमा पछि परेको गुजरात ३ खेलमा शतप्रतिशत जितसहित दोस्रो तथा समान अंक भए पनि नेट रनरेटमा पछि परेको बेंगलोर तेस्रो र लखनऊ चौथो स्थानमा छन्।
समान ६ अंक भएपनि शीर्ष चार नेटरनरेटको आधारमा निर्धारण भएको छ ।
यस्तै ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोडेको राजस्थान रोयल्स पाँचौं स्थानमा छ। समान अंक भए पनि नेट रनरेटमा पछि परेको पन्जाब छैठौं स्थानमा छ।
२ अंक जोडेको दिल्ली सातौं र समान अंकसहित हैदराबाद आठौं स्थानमा छन्। मुम्बई र चेन्नई अंकविहिन छन्।