आइपिएल २०२२ मा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ। दिल्लीले आइतबार भएको खेलमा कोलकता नाइटराइडर्समाथि ४४ रनको जित निकाल्यो।
दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकता २ बल खेल्न बाँकी छदा १७१ रनमा अलआउट भयो।
कोलकताका लागि कप्तान श्रेयस अय्यरले ५४ रन जोडे। नितिन राना ३० रन र आन्द्रे रसेल २४ रनमा आउट भए। साम बिलिङ्ग्ग्सले १५ रनभन्दा बढी जोड्न सकेनन्।
बलिङमा दिल्लीका कुलदिप यादवले ४ विकेट लिए। खलील अहमेदले ३ विकेट र शार्दूल ठाकुर २ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा २१५ रन जोड्यो।
उसका लागि पृथ्बी शाले ५१ रन र डेभिड वार्नरले ६१ रनको योगदान गरे। दुईबीच पहिलो विकेटका लागि ८.४ ओभरमा ९४ रनको साझेदारी भएको थियो।
कप्तान रिशव पन्तले १४ बलमा २७ रन, अक्षर पटेलले १४ बलमा नटआउट २२ रन र शार्दूल ठाकुरले ११ बलमा नटआउट २९ रन जोडे।