आइसिसी पुरूष टी-२० विश्वकप २०२४ का लागि छनोट प्रक्रियाको टुंगो लागेको छ। २०२४ को विश्वकपदेखि २० टिमबीच प्रतिस्पर्धा हुँदैछ।
आइसिसीको आइतबार सकिएको बोर्ड बैठकले १२ टिम सिधै छनोट हुने निर्णय गरेको छ।
जसमा २०२२ को टी-२० विश्वकपका शीर्ष ८ टिम, २ आयोजक र २ उच्च वरीयताका टिम सिधा छनोट हुनेछन्।
यो विश्वकप अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ।
नोभेम्बर २०२२ सम्मको आइसिसी टी-२० वरीयतामा विश्वकपमा छनोट हुने टिमको टुंगो लगाइनेछ। नोभेम्बरमा आइसिसी टी-२० विश्वकप २०२२ पनि सकिनेछ।
अस्ट्रेलियामा हुने २०२२ को विश्वकपमा वेस्ट इन्डिज शीर्ष आठमा पुग्न सफल भए वरीयताको आधारमा तीन टिम विश्वकपमा पुग्नेछन्।
सिधा छनोट हुने १२ टिमबाहेक बाँकी ८ टिम भने क्षेत्रीय छनोटबाट आउनेछन्।
अबदेखि विश्व छनोट हुनेछैन। क्षेत्रीय छनोटमा अफ्रिका, एसिया र युरोपबाट २-२ टिम तथा अमेरिका र इस्ट एसिया प्यासेफिकबाट १-१ टिम गरी ८ टिम छनोट हुनेछन्।