आइपिएल २०२२ मा राजस्थान रोयल्सले लखनउ सुपरजाइन्ट्सलाई ३ रनले पराजित गरेको छ।
आइतबार राति सकिएको खेलमा जित हात पारेसँगै राजस्थान ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
अंक तालिकामा कोलकता, गुजरात, बैंग्लोर र लखनउको पनि ६-६ अंक नै छ। यद्यपी राजस्थान रनरेटमा अघि छ।
आइतबार राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले ८ विकेटको क्षतिमा १६२ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा १५ रन चाहिएको लखनउविरुद्ध राजस्थानका कुलदिप सेनले दोस्रो, तेस्रो र चौथो बलमा कुनै रन दिएनन्।
लखनउका मार्कोस स्टोइनिसले पाँचौ बलमा चौका र छैटौं बलमा छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले १७ बलमा नटआउट ३८ रन जोडे।
त्यसअघि कप्तान केएल राहुल पहिलो बलमै आउट हुँदा क्वान्टिन डि ककले ३९ रन जोडे।
बलिङमा राजस्थानका युजभेन्द्र चाहलले ४ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो। उसका लागि शिमरन हेटमेयरले नटआउट ५९ रन बनाए। उनले ३६ बलमा १ चौका र ६ छक्का हिर्काए।