आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी), ओमान र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले ओमानमाथि रोमाञ्चक जित हात पारेको छ।
आइतबार राति दुबईमा भएको खेलमा स्कटल्यान्डले ओमानमाथि ४ रनको जित निकालेको हो।
स्कटल्यान्डले दिएको २१६ रनको लक्ष्य पछ्याएको ओमान २ बल खेल्न बाँकी छदा २११ रनमा अलआउट भएको थियो।
अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको ओमानको एक विकेट बाँकी थियो। जसमा चौथो बलमा ओमानका आयान खान आउट भएका थिए। खान ६८ रन बनाएर खेलिरहदा आउट हुँदा ओमान स्तब्ध बन्यो।
त्यसअघिको तीन बलमा ओमानका बिलाल खानले स्कटल्यान्डका एड्रियन निलविरूद्ध १ रन मात्र जोड्न सके।
४९औं ओभरमा स्कटल्यान्डले ओमानका दुई विकेट लिँदा ओमान दबाबमा परेको थियो। फयाज बटलाई मार्क वाटले ४ रन र कलीमुल्लाहलाई कोइट्जरले शून्यमा रनआउट गरेका थिए।
त्यसअघि जतिन्दर सिंहले ५३ रन र जीशन मक्सुदले ४६ रन जोडे।
बलिङमा स्कटल्यान्डका निलले ३ विकेट र हम्जा ताहिरले २ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड पनि २ बल खेल्न बाँकी छदा २१५ रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले ६२ रन बनाए। बलिङमा ओमानका फयज बटले ३ विकेट लिए।
लिग-२ को अंक तालिकामा ओमान २९ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको युएईको १८ खेलबाट २२ अंक छ भने तेस्रो स्थानको स्कटल्यान्डको १४ खेलबाट २० अंक भएको छ।
नामिबिया १४ खेलबाट १४ अंक जोड्दै चौथो र अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको १७ खेलबाट २ अंक छ।