रूपन्देहीमा संचालन भइरहेको नेपाल प्रो क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब समूह चरणबाटै बाहिरिएको छ।
समूहबाट लगातार दुई खेलमा विजयी भएका त्रिभुवन आर्मी र भारतको उत्तर प्रदेश-११ सेमिफाइनलमा भने पुगेका छन्।
समूह 'बी' मा लगातार दोस्रो खेलमा पराजित भएको एपिएफ सोमबार भारतको उत्तरप्रदेशसँग ७ विकेटले हार्यो।
पहिले ब्याटिङ गरेको एपिएफ १७.१ ओभरमा ७६ रनमै अलआउट भयो।
उसका लागि सुमित महर्जनले १६ रन, पुरन विकले १२ रन र अमरसिंह रटेउलाले २१ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा उत्तरप्रदेशका प्रिन्स शाहीले ४ विकेट लिए। विपिन चन्द्रले २ विकेट लिए भने सन्दीप मित्तल, दिव्य सिंह र नितिन रानाले १-१ विकेट लिए।
७७ रनको लक्ष्य उत्तर प्रदेशले ३ विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्यो।
उसका लागि राज यादवले नटआउट २९ जोडे। विवेक सिंहले २२ रन र राहुल कुमारले १६ रन जोडे।
बलिङमा एपिएफका नन्दन यादव र रटेउलाले १-१ विकेट लिए।