नेपाल प्रो-क्लब च्याम्पियनसिपको समूह ‘ए’ को खेलमा मलेसिया-११ ले पुस स्पोर्ट्स दिल्लीविरूद्ध अन्तिम ओभरको ६ बलमा ६ विकेट लिएको छ।
रूपन्देहीमा भइरहेको प्रतियोगितामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १९ ओभरसम्ममा ३ विकेटको क्षतिमा १३० रन जोडेको थियो।
अन्तिम ओभरमा बलिङमा मलेसियाका विरनदीप सिंह थिए भने ब्याटिङमा दिल्लीका इशान पाण्डे र मृगान्क पाठक थिए।
जसमा पहिलो बलमा पाठक ३९ रनमा क्याच आउट भए। दोस्रो बलमा इशान दुई रन लिने क्रममा रनआउटको सिकार भएका थिए। तेस्रो बलमा विरनदीपले दिल्लीका अनिन्डो नहारेलाई बोल्ड गरे। चौथो बलमा विरनदीपले दिल्लीका विशेष सरोहलाई पनि बोल्ड गर्न सफल भए।
पाँचौ बलमा जितन सिंघले प्रहार आकासिएपछि विरनदीपले क्याच गर्दै ह्याट्रिक गर्न सफल भए। छैटौं बलमा स्पर्शलाई पनि बोल्ड गर्दै विरनदीपले लगातार चार विकेट लिन सफल भए। प्रतियोगितालाई अन्तर्राष्ट्रिय मान्यता नभएकाले यो आधिकारी ह्याट्रिक भने होइन।
यो ओभरमा उनले व्यक्तिगत पाँच विकेट लिए भने रनआउट समेत गरी समग्रमा मलेसियाले ६ बलमा ६ विकेट नै लिन सफल भयो।
सुरूमा विरनदीपले वाइड बल फ्याँकेकाले मेडन ओभर हुन भने सकेन।
अन्तिम ओभरमा ६ विकेट गुमाए पनि दिल्लीले ९ विकेटको क्षतिमा १३२ रन जोड्न सफल भयो।
१३३ रनको लक्ष्य मलेसियाले ३ विकेटको क्षतिमा १५ बल खेल्न बाँकी छदा पार गर्दै ७ विकेटको जित निकाल्यो।