पाकिस्तानका बाबर अजाम र अष्ट्रेलियाकी रेशेल हेन्सले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘प्लेयर अफ दि मन्थ’ मार्चको अवार्ड जितेका छन्।
बाबर वेस्टइण्डीजका क्र्याइक ब्रेथवेट र अस्ट्रेलियाका प्याट कुमिन्सलाई पछि पार्दै मार्च महिनाको उत्कृष्ट क्रिकेटर बने। यस्तै महिलातर्फ हेन्सले इंग्ल्याण्डकी सोफी एकलेस्टोन र दक्षिण अफ्रीकाकी लौरा वोलवार्टलाई पछि पारिन्।
अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो।
बाबर आजमले हालै अस्ट्रेलियाविरूद्धको सिरीजमा शानदार प्रदर्शन गरेका थिए।
पाकिस्तानका कप्तानसमेत रहेका आजमले अष्ट्रेलियाविरूद्धको दोस्रो टेष्टमा कीर्तिमानी १९६ रनको पारी खेल्दै सिरिजमा ३९० रन जोडेका थिए।
बाबरकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले अष्ट्रेलियाविरूद्धको दोस्रो टेस्ट बराबरीमा सकाएको थियो। बाबरले यसबाहेक वानडे सिरीजमा पनि शानदार प्रदर्शन गरेका थिए।
यस्तै अष्ट्रेलियालाई सातौं पटक विश्वकपको उपाधि जिताएकी रेशेल हेन्स महिलातर्फ उत्कृष्ट खेलाडी भइन्।
उनले विश्वकप २०२२ मा आठ खेलमा ६१.२८ को औसतमा ४२९ रन बनाइन्। उनकै उत्कृष्ट प्रदर्शनले अष्ट्रेलियाले उपाधि जितेको थियो।