आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी), ओमान र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले पिएनजीलाई हराएको छ।
लिग-२ को अंक तालिकामा शीर्ष स्थानमा रहेको ओमानले मंगलबार दुबईमा भएको खेलमा ७ विकेटको जित निकाल्यो।
पिएनजीले दिएको २२५ रनको लक्ष्य ओमानले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
ओमानका लागि ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंहले शतक प्रहार गरे। उनले नटआउट ११८ रन जोडे। यो स्कोर ओमानका लागि एकदिवसीय खेलमा व्यक्तिगत उच्च स्कोर हो।
अर्का ओपनर कश्यप प्रजापति २ रनमा आउट भएका थिए। सोएब खान १ रन र आयन खान २५ रनमा आउट भए। कप्तान खवार अलीले नटआउट ५७ रन जोडे।
बलिङमा पिएनजीका सेमो कमेआले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले ९ विकेटको क्षतिमा २२४ रन जोड्यो।
पिएनजीका लागि चार्ल्स अमिनीले सबैभन्दी बढी ५९ रन जोडे। बलिङमा ओमानका बिलाल खानले ३ विकेट लिए भने फयज बट र नेस्टर धम्बाले २-२ विकेट लिए।
लिग-२ को अंक तालिकामा ओमान ३० खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको युएईको १८ खेलबाट २२ अंक छ भने तेस्रो स्थानको स्कटल्यान्डको १४ खेलबाट २० अंक छ।
नामिबिया १४ खेलबाट १४ अंक जोड्दै चौथो र अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको १८ खेलबाट २ अंक छ।