पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरूद्धको त्रिकोणात्मक टी–२० सिरिज विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू पुरस्कृत हुने भएका छन्।
गत चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको सिरिजमा नेपाल च्याम्पियन बनेको थियो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले सिरिज विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार सिरिज खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
नेपालले समूह चरणमा चारै खेलमा जित निकालेको थियो। फाइनलमा पिएनजीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।