नवप्रवेसी गुजरात टाइटन्सल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबार राती शीर्ष स्थानको राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात जारी लिगमा चौथो जितसहित ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको हो।
१ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनायो। राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ५४ रनको योगदान दिए। यस्तै शिम्रन हेटमायरले २९ रन बनाउँदा रियान पराग १८, जिमी निशम १७ र सञ्जु स्यामसनले ११ रन जोडे।
राजस्थानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
गुजरातका लोकी फर्गुसन र डेब्यू खेल खेलेका तीव्र गतिका बलर यश दयालले समान ३-३ विक्ट लिए। मोहम्मद शामी र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे।
त्यसपअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो।
उसका लागि हार्दिक पान्ड्या सर्वाधिक ८७ रन बनाए। उनले ५२ बल खेल्दै ८ चौका र ४ छक्कासहित अविजित रहे। यस्तै अभिनभ मनोहरले ४३ रन बनाए।
चौथो विकेटका लागि पान्ड्या र मनोहरले ८६ रनको साझेदारी गरेका थिए।
यस्तै डेविड मिलरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ रनको आक्रामक अविजित इनिङ खेले । ओपनर म्याथ्यु वेड १२ र सुभमन गिल १३ रनमा आउट भए। विजय शंकर २ रनमा आउट भएका थिए।
राजस्थानका कुलदीप सेन, युजभेन्द्र चहल र रियान परागले समान १–१ विकेट लिए।
यो जितसहित गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ।
समान ६-६ अंक भएका कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, पन्जाब, लखनऊ र बेंगलोर शीर्ष छ भित्र छन्।
सबैको समान अंक भए पनि नेट रनरेटमा क्रमश दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा छन्।
यस्तै ४ खेलमा २ मा जित र २ मा हार दिल्ली सातौं स्थानमा छ। समान अंक भए पनि हैदराबाद रनरेटमा पछि पर्दै आठौं स्थानमा छ।
५ खेलबाट १ जितसहित चेन्नई नवौ र अंकविहिन मुम्बई पुछारमा छ।
गुजरातले अब आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ। राजस्थानले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने तालिका छ।
शुक्रबार सनराइज हैदारावाद र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुनेछ।