आइपिएल २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। शनिबार राति सकिएको खेलमा बैंग्लोरले दिल्लीलाई १६ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको बैंग्लोरले ५ विकेटको क्षतिमा १८९ रन जोड्यो। कुनै समय ४ विकेट गुमाउदा ७५ रन जोडेको बैंग्लोरका लागि ग्लेन म्याक्सवेल र दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गरे।
ओपनर तथा कप्तान फाप डु प्लेसिस ८ रन र अनुज रावत शून्यमा आउट भएका थिए। विराट कोहलीले १२ रनभन्दा बढी जोड्न सकेनन्।
त्यसपछि म्याक्सवेलले ३४ बलमा ५५ रन जोडे।
दिनेश कार्तिकले ३४ बलमा नटआउट ६६ रन बटुले। कार्तिकले ५ चौका र ५ छक्का प्रहार गरे। उनले १८ ओभरमा दिल्लीका मुस्ताफिजुर रहमानविरुद्ध २८ रन जोडेका थिए। जसमा सुरूवाती तीन खेलमा लगातार चौका हिर्काएका कार्तिकले त्यसपछि लगातार दुई छक्का हिर्काए। अन्तिम बलमा चौका प्रहार गर्दै कार्तिकले एकै ओभरमा चार चौका र दुई छक्का हिर्काउँदै उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरे।
सहबाज अहमेदको नटआउट ३२ रन पनि बैंग्लोरका लागि महत्वपूर्ण सावित बन्यो।
१९० रनको लक्ष्य पछ्याएको दिल्लीले ७ विकेटको क्षतिमा १७३ रन जोड्न सक्यो। उसका लागि डेभिड वार्नरले ६६ रन जोडे।
बलिङमा बैंग्लोरका जोश हजलउडले ३ विकेट लिए भने मोहमद सिराजले २ विकेट हात पारे।
जितसँगै बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा उक्लियो। उसको ६ खेलबाट ८ अंक भएको छ। दिल्ली भने ५ खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा छ।