आइपिएल २०२२ मा सनराइजर्स हैदरावादका बलर उमरान मलिकले आइतबार उत्कृष्ट बलिङ गरेका छन्।
पञ्जाब किंग्सविरूद्धको खेलमा उनले ४ विकेट लिन सफल भएका छन्। चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दा २८ रन खर्चिए।
उनले अन्तिम ओभरमा तीन विकेटसहित मेडन राखेका छन्। आइपिएल इतिहासमा अन्तिम ओभरमा मेडन राख्ने उनी चौथो बलर बने।
जम्बु कास्मिर राज्यको श्रीनगरमा जन्मिएका २२ वर्षीय मलिकलाई यो सिजन हैदरावादले चार करोड भारूमा टिममा रिटेन गरेको थियो। उनी गत सिजन हैदरावादमा भित्रिएका थिए।
अन्तिम ओभरको दोस्रो बलमा उनले ओडिन स्मिथलाई १३ रनमा आउट गरे। चौथो बलमा राहुल चाहर र पाँचौ बलमा बैभव अरोरालाई शून्यमा रनमा बोल्ड गरे।
अन्तिम बलमा ह्याट्रिक लिने अवसर भए पनि उनले आफ्नो नाममा विकेट लिन भने सकेनन्। अन्तिम बलमा हैदरावादले भने अर्शदीप सिंहलाई रनआउट गरेको थियो।
मलिकले त्यसअघि जितेश शर्मालाई ११ रनमा आउट गरेका थिए।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा सबै विकेट गुमाउँदा १५१ रन जोड्यो। उसका लागि लियाम लिभिङस्टोनले सबैभन्दा बढी ६० रन जोडे। उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
पञ्जाबका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा हैदरावादका मलिकले चार विकेट लिँदा भुवनेश्वर कुमारले ३ विकेट लिन सफल भए।