आइपिएल २०२२ मा सनराइजर्स हैदरावाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। हैदरावादले आइतबार भएको खेलमा पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गर्यो।
पञ्जाबले दिएको १५२ रनको लक्ष्य उसले १८.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि एडिन मक्रमले नटआउट ४१ रन र निकोलास पूरनले नटआउट ३५ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा सबै विकेट गुमाउँदा १५१ रन जोड्यो। उसका लागि लियाम लिभिङस्टोनले सबैभन्दा बढी ६० रन जोडे। उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। पञ्जाबका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा हैदरावादका उमरान मलिकले चार विकेट लिँदा भुवनेश्वर कुमारले ३ विकेट लिन सफल भए।
चार ओभर बलिङ गरेका मलिकले एक मेडन राख्दा २८ रन खर्चिए।उनले अन्तिम ओभरमा तीन विकेटसहित मेडन राखे। आइपिएल इतिहासमा अन्तिम ओभरमा मेडन राख्ने उनी चौथो बलर बने।
जम्बु कास्मिर राज्यको श्रीनगरमा जन्मिएका २२ वर्षीय मलिकलाई यो सिजन हैदरावादले चार करोड भारूमा टिममा रिटेन गरेको थियो। उनी गत सिजन हैदरावादमा भित्रिएका थिए।
अन्तिम ओभरको दोस्रो बलमा उनले ओडिन स्मिथलाई १३ रनमा आउट गरे। चौथो बलमा राहुल चाहर र पाँचौ बलमा बैभव अरोरालाई शून्यमा रनमा बोल्ड गरे।
अन्तिम बलमा ह्याट्रिक लिने अवसर भए पनि उनले आफ्नो नाममा विकेट लिन भने सकेनन्। अन्तिम बलमा हैदरावादले भने अर्शदीप सिंहलाई रनआउट गरेको थियो।
जितसँगै हैदरावादले ६ खेलबाट ८ अंक जोडेको छ। शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको लखनउ र तेस्रो स्थानको बैंग्लोरको पनि ८-८ अंक नै छ। पञ्जाब भने ६ अंक जोड्दै सातौ स्थानमा छ।