आइपिएल टिम दिल्ली क्यापिटल्सका दुई जनालाई कोरोना संक्रमण भएको छ। जसमध्ये एक जना विदेशी खेलाडी भएको बताइएको छ। अर्का एक जना भने सपोर्ट स्टाफ हुन्।
यससँगै जारी आइपिएलमा तीन जनालाई कोरोना भएको पुष्टि भएको छ।
यसअघि दिल्लीका फिजियो प्याट्रिक फर्हाटलाई कोरोना भएको थियो। जारी आइपिएल टिममा उनी कोरोना लाग्ने पहिलो व्यक्ति बनेका थिए।
दिल्लीले अर्को खेल खेल्ने दुई दिनअघि दुई जनामा कोरोना भएको पुष्टि भएको हो। दिल्लीले पुनेमा पञ्जाब किंग्ससँग बुधबार खेल्दैछ।
दुई जनालाई कोरोना भएसँगै दिल्लीले सोमबार पुने जाने कार्यक्रम रद्द गरेको छ।
टिमका सबैलाई होटलको कोठामा क्वारेन्टिनमा बस्न भनिएको छ। अब दिल्ली टिमका सबैको फेरि पिसिआर टेस्ट गरिनेछ। त्यसपछि पुने जाने कार्यक्रम तय हुनेछ।
बुधबार दिल्ली र पञ्जाबबीच हुने खेल स्थगित हुन्छ वा हुँदैन भन्ने विषयमा अहिले केही निर्णय भएको छैन।