आइपिएल टिम लखनऊ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई जरिवाना गरिएको छ।
आइपिएलले उनको २० प्रतिशत म्याच फि जरिवाना गरेको हो।
रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा आइपिएलको आचार संहिता उल्लङघन गरेको भन्दै उनलाई कारवाही गरिएको हो।
उनले आफ्नो गल्ती स्वीकार गरेका छन्।
यस्तै लखनऊका मार्कस स्टोइनिसलाई पनि दोषी ठहर गर्दै कारबाही गरिएको छ। तर उनलाई जरिवाना भने गरिएको छैन।
स्टोइनिस १९औं ओभरको दोस्रो बलमा जोस हेजलउडले क्लिन बोल्ड भएका थिए। आउट भएपछि स्टोइनिस रिसाएका थिए।
स्टोइनिसले पेभिलियनतर्फ जाँदा रिसमा ब्याट हावामा घुमाउने प्रयास गरेका थिए। तर बीचमा रोकिएका थिए। किनभने त्यही क्रममा आरसीबीका एक खेलाडी बीचमा आएका थिए। यदि स्टोइनिसले ब्याट घुमाएको भए त्यो खेलाडीलाई चोट लाग्न सक्थ्यो।
आउट हुनुअघि अर्थात् ओभरको पहिलो बल अफ साइडमा धेरै पर भएका स्टोइनिसले खेल्न सकेका थिएनन्। फिल्ड अम्पायरले यसलाई वाइड भनेका थिएनन्। यसबाट स्टोइनिस पनि आक्रोशित भए र वाइडलाई लिएर अम्पायरसँग बहस गर्न थालेका थिए।