पूर्वकप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट प्रदर्शनमा चेन्नई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दोस्रो जित निकालेको छ।
बिहीबार राती अन्तिम ओभरमा धोनीको उत्कृष्ट अन्त्यसँगै मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो। यस्तै पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने लगातार सातौं हार बेहोरेको छ।
१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
चेन्नईका लागि अम्बाती रायुडूले सर्वाधिक ४० रन बनाए। रोबिन उथ्थपाले ३० रन बनाउँदा महेन्द्रसिंह धोनी १३ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे। ड्वेन प्रिटोरियसले २२ रन जोडे।
अन्तिम ६ बलमा चेन्नईलाई १७ रन आवश्यक थियो। पहिलो बलमै जयदेव उनादकटले ड्वेन प्रिटोरियसलाई एलबीडब्लु आउट गरे। अर्को बलमा ब्राभोले १ रन लिएर धोनीलाई स्ट्राइक दिए। त्यसपछि धोनीले तेस्रो बलमा छक्का प्रहार गरेपछि बाँकी ३ बलमा १० रन जितको लागि आवश्यक भयो। धोनीले चौथो बलमा चौका प्रहार गरे। ४ बलमा १६ रन आवश्यक रहेको बेला अब २ बलमा ६ आवश्यक पर्यो। त्यसपछिको पाँचौं बलमा दुई रन जोडे। अन्तिम बलमा चार रन चाहिएको अवस्थामा धोनीले चौका प्रहार गर्दै रोमान्चक जित दिलाए।
चेन्नईका बाँकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर ऋतुराज गायकवाड गोल्डेन डक, मिचेल सान्टनार ११, शिवम दुबे १३ र रविन्द्र जडेजा ६ रनमा आउट भए।
मुम्बईका तीव्र गतिका बलर ड्यानियल साम्सले सर्वाधिक ४ विकेट लिए। जयदेव उनादकटले २ र राइली मेरिडीथले १ विकेट लिए।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी, मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ५१ रनको अविजित इनिङ खेले। सूर्य कुमार यादवले ३२ रन बनाउँदा, हृतिक शोकिन २५ रन बनाए। जयदेव उनादकट १९ रनमा अविजित रहँदा काइरन पोलार्ड १५ रनमा आउट भए।
खराब सुरुआत गरेको मुम्बईका लागि पहिलो ओभरमै तीव्र गतिका बलर मुकेश चौधरीले दुबै ओपनर रोहित शर्मा र ईशान किशनलाई शून्यमा पेभेलिएन फर्काएका थिए। डेवाल्ड ब्रेभिस ४ रनमै मुकेशको बलमा आउट भए।
चेन्नईका लागि तीव्र गतिका बलर मुकेश चौधरीले ३ विकेट लिए। ड्वेन ब्राभोले २ विकेट हात पारे। मिचेल सान्टानर र महेश तिक्षणाले समा १-१ विकेट हात पारे।
लगातार दोस्रो जितपछि चेन्नई ७ खेलमा २ जितसहित ४ अंक जोड्दै नवौ स्थानमा यथावत छ। सबै सात खेल गुमाएको मुम्बई अंकविहिन छ।
६ खेलमा ५ मा जित र १ मा हारसहित गुजरात १० अंकका साथ शीर्षस्थानमा छ। समान अंकसहित बेंगलोर दोस्रो स्थानमा छ।
राजस्थान रोयल्स ८ अंकका साथ तेस्रो स्थानमा रहँदा समान अंक भए पनि रनरेटमा पछि परेका लखनऊ र हैदराबाद चौथो र पाँचौ स्थानमा छन्।
यस्तै ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ दिल्ली छैठौं स्थानमा छ। समान अंक भए पनि कोलकाता नाइट राइडर्स र पन्जाब क्रमशः सातौ र आठौं स्थानमा छन्।
आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्नेछन्। राजस्थानलाई आज शीर्ष स्थानमा उक्लने मौका छ भने दिल्लीलाई तेस्रो स्थानमा पुग्ने अवसर छ।