आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीचको बहुप्रतिक्षित खेल बिहीबार भयो।
खेलको पहिलो ओभरमा नै मुम्बईलाई झड्का लागे पनि उसले बलियो कमब्याक गरेको थियो। एक समय चेन्नईको हातबाट खेल उम्किएको जस्तो देखिन्थ्यो। तर उत्कृष्ट फिनिसर महेन्द्रसिंह धोनीले स्मरणीय फिनिसिङ गर्ने अपेक्षा गरिएकाले चेन्नईले जित्ने अपेक्षा गरिएको थियो।
अम्बाती रायुडु आउट भएपछि १५ औं ओभरको अन्तिम बलमा मैदान आएका धोनीको ब्याटिङमा आँधी आउनुअघि सन्नाटा छाएको थियो।
अन्तिम १८ बलमा जितका लागि ४२ रन आवश्यक थियो। धोनीले पहिलो ६ बलमा ६ रन मात्र बनाएका थिए। सातौं बलमा चार, त्यसपछि दुई पटक एक लिए।
अब १२ बलमा २८ रन आवश्यक थियो। यस ओभरमा चेन्नईका प्रिटोरियसले दुई चौका प्रहार गर्दै ११ रन बनाए।
खेल अन्तिम ओभरमा पुग्यो। मुम्बईका जयदेव उनाडकटले बलिङ गरिरहेका थिए र चेन्नईले जितका लागि ६ बलमा १७ रन जोड्नु परेको थियो। प्रिटोरियस पहिलो बलमै एलबीडब्ल्यू आउट भए। ब्राभो आए, दोस्रो बलमा रन बनाए र धोनीले स्ट्राइक पाए। अब चार बलमा १६ रन बनाउन बाँकी थियो।
धोनीले लङ अफमा पहिलो बलमा छक्का प्रहार गरे। उनादकटले अर्को बलमा बाउन्सर दिए, जसमा धोनीले फाइन लेगमा चौका हाने। अर्को बलमा धोनीले दुई रन लिए।
यसपछि अन्तिम बलमा जितका लागि चार रन जोड्नु परेको थियो। उनाडकट लेग स्टम्पमा योर्कर प्रहार गरे। धोनीले फाइन लेगमा चौका हिर्काए र चेन्नईलाई फेरि एकपटक यादगार जित दिलाए।
पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १५५ रन जोडेको थियो। १५६ रनको लक्ष्य चेन्नईले ७ नै विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको थियो।
धोनीले अन्तिम चार बलमा १६ रन बनाएको यो पहिलो पटक होइन। उनले सन् २०१६ मा पञ्जाबविरुद्ध अन्तिम चार बलमा १६ रन बनाएका थिए।
आइपिएलको २० औं ओभरमा धोनीको स्ट्राइक रेट २४४ रहेको छ। उनले २० औं ओभरमा हालसम्म ५१ छक्का प्रहार गरेका छन्। उनको कुल २२७ खेलमा २२३ छक्का प्रहार गरेका थिए। सबैभन्दा धेरै छक्काको हान्नमा धोनीभन्दा क्रिस गेल (३५५ छक्का), एबी डिभिलियर्स (२५० छक्का) र रोहित शर्मा (२३३ छक्का) छन्।
जितपछि चेन्नईका कप्तान रविन्द्र जडेजाले झुकेर धोनीलाई सम्मान गरेका थिए।
धोनीको माइन्ड गेम
जब चेन्नई फिल्डिङ गरिरहेको थियो र मुम्बईका पोलार्डले आठ बलमा १४ रन बनाएका थिए।
धोनीले दुई खेलाडीलाई लङ्ग अनमा फिल्डिङमा पठाए। एउटालाई नियमित लङ अनमा राखिएको थियो भने अर्कोलाई विकेटबाट करिब छ इन्च हटाएर लगभग अगाडि राखिएको थियो।
धोनीको यो फिल्ड सेटका कारण पोलार्ड अर्को बलमा क्याच भए। धोनीले त्यहाँका सबैभन्दा अग्ला खेलाडी शिवम दुबेलाई पठाएका थिए।
चेन्नईका मुकेश चौधरीले खेलको पहिलो ओभरमै मुम्बईमाथि उत्कृष्ट बलिङ गरेका थिए। उनले दोस्रो बलमा मुम्बईका कप्तान रोहित शर्मा शून्य रनमा आउट गरेका थिए।
चौधरीले शर्मालाई मिड विकेटमा क्याच आउट गराए। सोही ओभरको पाँचौं बलमा मुकेशले आफ्नो फुल लेन्थ आउटस्विङ बलमा इशान किशनलाई पनि शून्यमा बोल्ड गरे।
चेन्नईले पहिलो पटक आइपिएल खेलको पहिलो ओभरमा दुई विकेट लिने कीर्तिमान बनाएको छ। चेन्नईका लागि मुकेश चौधरीले यो कीर्तिमान बनाए।
मुकेशले ब्रेभिसको पनि विकेट लिए र तीन ओभरमा तीन विकेट लिए, तर जडेजाले उनलाई यो खेलमा चौथो ओभर दिएनन्।
चेन्नईले खेल जिते पनि फिल्डिङमा राम्रो प्रदर्शन गर्न सकेन।
पहिलो ओभरमा मुम्बईको दुई विकेट खसेको थियो। सान्टनर दोस्रो ओभर बलिङ गर्दै थिए। यो ओभरमा सूर्यकुमार यादवलाई स्टम्प आउट गर्ने मौका पाए पनि धोनीले खेर फाले।
कप्तान जडेजाले सोही ओभरमा डिवाल्ड ब्रेभिसको सहज क्याच समात्न सकेनन्। चेन्नईले यी दुई मौका नगुमाएको भए मुम्बईले दोस्रो ओभरमा १३ रनमा चार विकेट लिएको थियो।
ब्रेभिसलाई अर्को ओभरमा मुकेश चौधरीले आउट गरेका थिए। त्यसैले सूर्यकुमार यादव पनि (२१ बलमा ३२ रन बनाएर) छिट्टै पेभिलियन फर्किए।
मुम्बईका युवा खेलाडीको राम्रो प्रदर्शन
यो बीचमा मुम्बईका १९ वर्षीय तिलक वर्मा ब्याटिङमा आएका थिए। मुकेश चौधरीको बलमा स्लिपमा ड्वेन ब्राभोले उनको क्याच छोड्दा उनी आउट हुनबाट बचेका थिए।
तिलक वर्माको क्याच छोड्नु चेन्नईका लागि निकै महँगो सावित भयो। एक समयमा रन बनाउन संघर्ष गरिरहेको मुम्बई टोलीका लागि तिलक वर्माले अर्धशतक मात्र बनाएका थिएनन्, स्कोरलाई डेढ सयभन्दा माथि पनि पुर्याएका थिए जसका कारण मुम्बईले यस खेलमा अन्तिमसम्म प्रतिस्पर्धा गर्न सक्यो।
दबाबको अवस्थामा पनि मुम्बईको लागि रन जोडेका बर्माको अहिले प्रशंसा भइरहेको छ।
उनले चेन्नईविरुद्ध अविजित ५१ रन बनाएका थिए, यसअघि प्रतियोगिताका ६ खेलमा उनको स्कोर २२, ६१, ३८, ०, ३६, २६ रन थियो।
आफ्नो अर्धशतक पूरा गरेपछि १९ वर्षीय तिलक वर्माले भने, 'हाम्रो योजना पूरा २० ओभर खेल्ने थियो। हामीले राम्रो बलिङ गर्यौं भने स्कोर बचाउन सफल हुन सक्छौं। जमिनमा शीत पनि थियो। हामीले अझै केही रन बनाउनु पर्ने थियो।'
मुम्बईका २१ वर्षीय ऋतिक शोकीनका लागि चेन्नईविरूद्धको खेल पहिलो आइपिएल खेल थियो। उनले ब्याटिङमा राम्रो प्रदर्शन गरे।
खेलमा मुम्बईको स्कोर ४७ रनमा चार विकेट हुँदा शोकिन पिचमा आए र तिलकसँग ३८ रनको साझेदारी खेले, जसमध्ये २५ रन ऋतिकको ब्याटबाट निस्केको थियो।
आफ्नो पहिलो खेलमा ऋतिक शोकिनले ब्याट मात्र होइन बलिङले पनि सबैको मन जिते।
खेलमा ऋतिकले कुनै विकेट लिन सकेनन् तर आफ्नो चार ओभरमा २३ रन मात्र दिए।
यससँगै सामाजिक सञ्जालमा उनको प्रशंसा पनि भएको छ।
पाँच पटकको च्याम्पियन मुम्बईको खराब कीर्तिमान
चेन्नईसँगको हारसँगै मुम्बई इन्डियन्सले आइपिएलमा अनौठो कीर्तिमान बनाएको छ। यो सिजनमा मुम्बई इन्डियन्सको यो लगातार सातौं हार हो। आइपिएलमा कुनै टोलीले लगातार सात खेलमा हार बेहोरेको यो पहिलो पटक हो।
यसअघि लगातार ६ हारको कीर्तिमान आइपिएलमा थियो।
दिल्ली (तत्कालीन डेयरडेभिल्स) सन् २०१३ मा लगातार ६ खेल हार्ने पहिलो टोली थियो। सो सिजन दिल्लीले पूरै सिजनमा तीन खेल मात्र जितेको थियो। सिजनमा सबै टोलीले प्लेअफअघि १६ खेल खेलेका थिए।
रोयल च्यालेन्जर्स बैंगलोरले २०१९ मा लगातार ६ हारको बेहोरेको थियो। आठ टोली सहभागी उक्त सिजनमा बैंगलोरले १४ मध्ये पाँच खेल मात्र जितेर अन्तिममा रह्यो।
मुम्बईका कप्तान रोहित शर्माले आइपिएलमा शून्य रनमा आउट भएर नयाँ कीर्तिमान बनाएका छन्। रोहित शर्मा अहिलेसम्म आइपिएलमा १४ पटक शून्य रनमा आउट भएका छन्।
उनीले पियुष चावला, हरभजन सिंह, पार्थिव पटेल, मनदीप सिंह, अजिंक्य रहाणे, अम्बाती रायडुको खराब कीर्तिमानलाई पछि पारे।