महेन्द्रसिंह धोनीले उत्कृष्ट फिनिसिङ गरेपछि चेन्नई सुपरकिंग्सले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि बिहीबार राति ३ विकेटको जित निकाल्न सफल भयो।
खेलमा घरेलु टिमका अनुभवी खेलाडीले फिक्का प्रदर्शन गरेका थिए। तर दुई जना युवा खेलाडीले भने सबैको मन जित्न सफल भए।
खेलमा मुम्बईका लागि सफल मानिएका खेलाडी हुन्- १९ वर्षीय तिलक वर्मा र २१ वर्षीय ऋतिक शोकीन। कुनै समय खराब अवस्थामा रहेको मुम्बईका लागि यी दुवै खेलाडीले इनिङ्ग्स उकासेका थिए।
हैदरावादमा जन्मिएका वर्माले भारतको यू-१९ टिमबाट खेलिसकेका छन्। उनी हैदरावादको टिममा पनि समावेश छन्।
बलर ऋतिक भने दिल्लीका खेलाडी हुन्। उनी पनि भारतको यू-१९ टिमबाट खेलेर चर्चामा आएका खेलाडी हुन्। भारतको यू-२३ टिमबाट समेत खेलिसकेका ऋतिकले चेन्नईविरूद्धको खेलबाट आइपिएलमा डेब्यू गरेका हुन्।
सूर्यकुमार यादव आउट भएपछि मैदान छिरेका वर्माले सुरूमै जीवनदान पाएका थिए।
चेन्नईका मुकेश चौधरीको बलमा स्लिपमा ड्वेन ब्राभोले उनको क्याच छोड्दा उनी आउट हुनबाट बचेका थिए।
वर्माको क्याच छोड्नु चेन्नईका लागि निकै महँगो सावित भयो।
एक समयमा रन बनाउन संघर्ष गरिरहेको मुम्बईका लागि वर्माले अर्धशतक मात्र बनाएका थिएनन्, स्कोरलाई डेढ सयभन्दा माथि पनि पुर्याएका थिए। जसका कारण मुम्बईले खेलमा अन्तिमसम्म प्रतिस्पर्धा गर्न सक्यो।
दबाबको अवस्थामा पनि मुम्बईको लागि रन जोडेका वर्माको अहिले प्रशंसा भइरहेको छ।
उनले चेन्नईविरुद्ध अविजित ५१ रन बनाए, यसअघिका ६ खेलमा उनको स्कोर २२, ६१, ३८, ०, ३६, २६ रन थियो।
आफ्नो अर्धशतक पूरा गरेपछि १९ वर्माले भने, 'हाम्रो योजना पूरा २० ओभर खेल्ने थियो। हामीले राम्रो बलिङ गर्यौं भने स्कोर बचाउन सफल हुन सक्छौं। जमिनमा शीत पनि थियो। हामीले अझै केही रन बनाउनु पर्ने थियो।'
ऋतिकका लागि भने चेन्नईविरूद्धको खेल पहिलो आइपिएल खेल थियो। उनले ब्याटिङमा राम्रो प्रदर्शन गरे।
खेलमा मुम्बईको स्कोर ४७ रनमा चार विकेट हुँदा ऋतिक पिचमा आएका थिए। उनले वर्मासँग ३८ रनको साझेदारी खेले, जसमध्ये २५ रन ऋतिकको ब्याटबाट निस्केको थियो।
आफ्नो पहिलो खेलमा ऋतिकले ब्याट मात्र होइन बलिङले पनि सबैको मन जिते। खेलमा ऋतिकले कुनै विकेट लिन सकेनन् तर आफ्नो चार ओभरमा २३ रन मात्र दिए।