पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा खराब लयलाई निरन्तरता दिएको छ।
आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बई लगातार आठौं हार व्यहोरेको हो। यो सँगै मुम्बईका लागि प्ले अफका सबै सम्भावना लगभग सकिएका छन्।
१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाए। तिलक बर्माले ३८ रन बनाउँदा काइरन पोलार्डले १९ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
रोहित शर्मा र ईशान किशनले पहिलो विकेटका लागि ७.१ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरूआत दिलाएका मुम्बईले त्यसपछि लगातार विकेट गुमायो।
ईशान ८ रनमा आउट भए। त्यसपछि डेवाल्ड ब्रेभिस ३ रनमा आउट हुँदा सूर्यकुमार यादवले ७ रन जोड्न पाए।
मुम्बईलाई सस्तैमा रोक्न लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ३ विकेट लिए। मोहसिन खान, आयुष बदोनी, जेसन होल्डर र रवि विश्रोईले समान १–१ विकेट हात पारे।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। लखनऊका कप्तान लोकेश राहुलले सतक प्रहार गरे। ६२ बल खेलेका उनले १२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ३ रनमा अविजित रहे। जारी आइपिएलमा राहुलको मुम्बईविरूद्ध दोस्रो शतक हो।
यसअघि राहुलले लिगको पहिलो खेलमा मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित समान १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए।
राहुलबाहेक लखनऊका अन्य ब्याटरले खुलेर खेल्न सकेनन्। मनिष पाण्डे २२, आयुष बदोनीले १४, ओपनर क्विन्टन डि कक र दिपक होडा समान १०-१०, मार्कस स्टोइनिस शून्य र क्रुनाल पान्ड्या १ रनम आउट भए।
मुम्बईका लागि काइरन पोलार्ड र राइली मेरिडीथले २-२ विकेट लिए। जस्प्रित बुमराह र ड्यानियल साम्सले समान १–१ विकेट हात पारे।
यो जितसँगै लखनऊ ८ खेलमा ५ जित र तीन हारसहित १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यता पराजित मुम्बई सबै ८ खेलमा जितविहिन छ।
७ खेल खेलेको अर्को नवप्रवेशी गुजरात ६ जितसहित १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। यस्तै ७ खेलमा ५ जित निकालेको हैदराबाद रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ। रनरेटमा पछि परेका राजस्थान र बैंलोर क्रमश तेस्रो र पाँचौ स्थानमा छन्।
३ जित निकालेका दिल्ली, कलकत्ता र पञ्जाब समान ६-६ अंक भए पनि रनरेटका आधारमा क्रमशः छैठौं, सातौ र आठौं स्थानमा छन्।
७ खेलमा २ जित निकालेको चेन्नई ४ अंकसहित नवौं स्थानमा छ। सबै ८ खेल गुमाएको मुम्बई अंकबिहिन हुँदै पुछारमा छ।
आजको खेल पञ्जाब र चेन्नईबीच हुनेछ। यदि आजको खेलमा चेन्नईले पञ्जाबलाई हराएर छैठौं स्थानमा उक्लने मौका छ। यस्तै पञ्जाबले चेन्नईलाई हराए ऊ पनि छैठौं स्थानमा उक्लिनेछ।