बसिर अहमेदले नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका छन्। त्रिवि मैदान कीर्तिपुरमा जारी जिम्बावे ‘ए’ विरूद्धको पहिलो टी-२० खेलमा पहिलो रोजाइमा परेसँगै अहमेदले राष्ट्रिय टिममा पहिलोपटक खेल्ने अवसर पाएका हुन्।
यद्यपी यो खेल आइसिसीबाट मान्यता नपाएको खेल हुँदा उनको औपचारिक डेब्यू भने होइन।
अहमेदले नेपालको यू-१९ टिमबाट खेलिसकेका छन्। २०२१ को डिसेम्बरमा भएको यू-१९ एसिया कपमा उनले तीन खेलमा १०७ रन जोड्दा २ विकेट लिएका थिए।
अलराउन्डर अहमेदले पछिल्लो पटक भैरहवामा भएको प्रो-क्लब च्याम्पियनसिपमा घरेलु टिम रूपन्देहीबाट खेलेका थिए। रूपन्देहीले प्रतियोगिताको उपाधि जित्दा उनले महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए। उनले ११९ रन जोड्दा १० विकेट हात पारेका थिए।
यस्तै तिलोत्तमा प्रिमियर लिगमा पनि उनी उत्कृष्ट खेलाडी बनेका थिए।
घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिमको प्रारम्भिक टिममा परेका थिए।
उनको पुर्ख्यौली घर कपिलवस्तु हो। केही सयमअघिसम्म उनी रूपन्देहीबाट घरेलु क्रिकेट खेल्थे। फेरि पछिल्लो पटक उनी कपिलबस्तुबाटै खेल्न थालेका थिए।
भारतीय सीमाको सिद्धार्थनगरमा उनले आफन्तको सहयोगमा एकेडेमीमा गएर क्रिकेट सिकेका थिए।
उनी हाल भैरहवाको तिरूपती स्पोर्ट्स क्लबमा क्रिकेट प्रशिक्षण गर्छन्। पछिल्लो पटक प्रधानमन्त्री कप लुम्बिनी प्रदेशबाट खेलेका थिए।