नेपाल भ्रमण रहेको जिम्बावे 'ए' र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको दोस्रो टी-२० खेलमा वर्षा बाधक बनेको छ। जसका कारण दोस्रो टी-२० रद्द भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो।
जिम्बाबेले २ विकेटको क्षतिमा ४३ रन बनाएको स्थिति थियो। जिम्बावेका कुडजाइ माउन्जे २२ रन र रोए काइया १ रन बनाएर खेलिरहेका थिए।
त्यसअघि इनोसेन्ट काइयालाई शून्यमा आउट भए। मारूमानी ११ बलमा २१ रन जोडेर आउट भए।
बलिङमा नेपालका सोमपाल कामी र करण केसीले १-१ विकेट लिए।
यसअघि आइतबार भएको पहिलो टी-२० खेलमा जिम्बावे विजयी भएको थियो। जिम्बावेले नेपालमाथि ६ विकेटको सहज जित हात पारेको थियो।
सिरिजको अन्तिम खेल पर्सी बुधाबार हुनेछ।
त्यसपछि एकदिवसीय सिरिज हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।