नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि दोस्रो चरणमा १८ सदस्य टोली घोषणा गरेको छ।
प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो। २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि मलेसिया जाने खेलाडीको नामावली सोमबार सार्वजनिक गरेको हो।
एसिया क्षेत्र छनोटमा नेपालले युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्डसँग प्रतिश्पर्धा गर्नेछ। शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ।
यू १९ विश्वकप २०२३ मा जनवरी फेब्रुअरीमा हुनेछ। प्रतियोगितामा कुल १६ टोली सहभागी हुँदा ४१ खेल हुनेछन्। एसिया छनोट भने जुन पहिलो साता हुने क्यानले जनाएको छ।
क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी छन्।