इन्डिन प्रिमियर लिग (आइपिएल) २०२२ मा हाइप्रोफाइल प्रतिश्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ।
यो सँगै जारी प्रतियोगितामा छैठौं जित निकालेको बैंगलोरले अंक तालिकामा चौथो स्थानमा उक्लिदै प्ले अफको सम्भावना बलियो बनाएको छ ।
सन् २०२० पछि आइपिएलमा बैंगलोरले चेन्नईलाई हराएको पहिलो पटक हो।
जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन मात्र बनाउन सक्यो। चेन्नईका ओपनर डेभन कन्वेले सर्वाधिक ५६ रन बनाए। मोइल अलीलले ३४ रन बनाउँदा ओपनर ऋतुराज गायकवाडले २८, ड्वेन प्रिटोरियस १३ तथा अम्बाती रायुडूले १० रन बनाए।
यस्तै रविन्द्र जडेजा ३ रनमा आउट हुँदा रोविन उथप्पा १, कप्तान महेन्द्रसिंह धोनी २ र महेश थिक्सनाले ७ रन बनाए।
चेन्नईलाई रोक्न बेंगलोरका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। यस्तै ग्लेन म्याक्सवेलले २ विकेट लिँदा शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले समान १–१ विकेट हात पारे।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो।
उसका लागि महिपाल लोमरले सर्वाधिक ४२ रन बनाए। यस्तै फाफ डु प्लेसिसले ३८ रन बनाउँदा अर्का ओपनर विराट कोहलीले ३० रन जोडे।
दीनेश कार्तिकले २६ रन बनाउँदा साजत पाटिदर २१ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बेंगलोरलाई ओपनर कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरूआत दिलाएका थिए। तर दुबै ओपनर आउट भएपछि बैंगलोरलेले स लगातार विकेट गुमाउँदै गयो।
ग्लेन म्याक्सवेल ३, हसरंगा शून्य, शाहबाज अहमद १ र हर्सल पटेल शून्यमा आउट भए।
चेन्नईका लागि महेश थिक्सनाले सर्वाधिक ३ विकेट लिए। यस्तै अलराउन्ड प्रदर्शन गरेका मोईन अलीले २ विकेट लिए। ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो।
यो जितसँगै बैंगलोर ११ खेलबाट १२ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।
यो हारसँगै चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई प्लेअफ पुग्न मुश्किल भएको छ।
१० खेलमा ३ जित निकालेको चेन्नईले हालसम्म ६ अंक जोडेको छ। अब आफूले बाँकी सबै चार खेल जितेर १४ अंक बनाए पनि चेन्नईलाई प्लेअफ पुग्न अर्को टोलीसँग भर पर्नुपर्ने हुन्छ।
अब चेन्नईले मे ८ मा दिल्ली क्यापिटल्स, मे १२ मा मुम्बई इन्डियन्स, मे १५ मा गुजरात टाइटन्स र मे २० मा राजस्थान रोयल्ससँग खेल्नेछ।
तालिकाको शीर्ष स्थानमा रहेको गुजरातले १० खेलमा १६ अंक जोडेको छ।
यस्तै अर्को नवप्रवेशी लखनऊले समान १० खेलबाट ७ मा जित र ३ मा हार सहित १४ अंक जोडेर दोस्रो स्थानमा छ। राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ।
रन रेटमा पछि परेको बेंगलोर चौथो स्थानमा छ।
यस्तै हैदराबाद र पञ्जाब समान १०-१० अंकसहित पाँचौ र छैठौं स्थानमा छन्। समान ८ अंक रहेका दिल्ली र कलकत्ता सातौ र आठौं स्थानमा छन्।
पराजित चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा झरेको छ। १ खेलमा जित निकालेको मुम्बई पुछारमा छ।