मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दोस्रो जित निकालेको छ।
शुक्रबार राती शीर्ष स्थानमा रहेको गुजरात टाइटन्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको मुम्बईले १० खेलमा लगातार दोस्रो जित हात पारेको हो।
१ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनायो। गुजरातलाई जितको लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो। तीव्र गतिका बलर ड्यानियल साम्सले तीन रन मात्र खर्चेपछि मुम्बईले नाटकीय जित निकालेको हो।
साम्सले डेविड मिलरले पहिलो बलमा एक रन दिए। दोस्रो बल राहुल टेवाटियालाई डट राखे। तेस्रो बलमा राहुल टेवाटिया दुई रन लिनेक्रममा रन आउट भए।
चौथो बलमा राशिद खानले पनि एक रन लिए। बाँकी दुई बलमा ६ रन चाहिएको थियो। पाँचौं बल डट राखे। अन्तिम बलमा ६ रन आवश्यक रहेको बेलामा सास्मले डट बल फालेसँगै मुम्बईले रोमाञ्चक जित निकाल्यो।
त्यसअघि गुजरातका ओपनर द्वय ऋद्धिमान साह र शुभमन गिलले अर्धसतकीय इनिङ्स खेलेका थिए।
साहले ४० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५५ रन बनाउँदा गिलले ३६ बलमा ६ चौका र २ छक्कासहित ५२ रनमा आउट भए ।
पहिलो विकेटका लागि गिल र शाहले १२.१ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए।
यस्तै हार्दिक पान्ड्याले २४ रन बनाउँदा डेभिड मिलरले १९ तथा शाई सुदर्शनले १४ रन जोडे।
मुम्बईका लागि मुरूगन आश्विनले २ तथा काइरन पोलार्डले १ विकेट लिए।
त्यसअघि ब्रेबोन स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो।
मुम्बईका लागि इशान किसानले ४५, टिम डेविडले ४४ कप्तान रोहित शर्माले ४३ रन जोडे।
ओपनर ईशान र रोहितले पहिलो विकेटका लागि ७.३ ओभरमा ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। यस्तै तीलक बर्माले २१ रन बनाउँदा सूर्यकुमार यादवले १३ रन जोडे। काइरन पोलार्डले ४ रन बनाए।
गुजरातका लागि राशिद खानले २ तथा अल्जारी जोशेफ, फेर्ग्यूसन र प्रदीप सांगवानले १–१ विकेट लिए।
यो जितसँगै मुम्बईले जारी लिगमा दोस्रो जित निकालेको छ।
पराजित गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ।
यस्तै १० खेलमा १४ अंक जोडेको लखनऊ दोस्रो स्थानमा छ।
राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंलोर समान १२-१२ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।
समान १० अंक जोडेका दिल्ली, हैदराबाद र पन्जाब रनरेटका आधारमा पाँचौ, छैठौं र सातौ स्थानमा छन्।
कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ। चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ।