अन्तिम ओभरको खेलमा फिल्डिङ फितलो भएपछि नेपालले युगान्डाविरुद्धको पाँच खेलको टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल युगान्डसँग १ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको युगान्डाले ९ विकेटको क्षतिमा एक बल बाँकी रहदा लक्ष्य भेट्टायो।
यससँगै युगान्डाले पाँच खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।
नेपालले प्रस्तुत गरेको लक्ष्य भेटाउन जवाफी ब्याटिङ गरेको युगान्डाका लागि रिता मोसामालीले सर्वाधिक ३० रनको जोड्दा फ्यांक्लिन नाज्जुम्बाले १९ रन तथा जनेत एम्बाबाजीले १६ रनको योगदान गरे।
३० रन जोडेकी रिता मोसामालीले ३४ बलमा तीन चौका प्रहार गरेकी थिइन्। बलिङतर्फ नेपालकी कविता कुँवर र सबनम राईले समान दुई-दुई विकेट लिए। यसबाहेक, सिता रानामगर र कप्तान रुविना क्षेत्रीको नाममा एक–एक विकेट रह्यो।
दुबईमा सम्पन्न फेयर ब्रेक पछि टोलीमा समावेश भएकी पूर्व उपकप्तान सीता राना मगरले आफ्नो उपकप्तान खोसिएको बारेमा सोधिएको प्रश्नमा उनले क्यानको निर्णयमा खुसी नै भएको प्रतिक्रिया दिइन्।
उनले आफूभन्दा ठूलो क्यान भएको बताउँदै नेपाल एपिएफ क्लबलाई नेतृत्व गरिरहने बताइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०१ रन जोड्यो। नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन्।
विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन्। यस्तै, सरिता मगरले २२ र कप्तान रुविना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्। डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रनको पारी खेलेका थिए । यस्तै, कविता जोसी भने डक आउट हुँदै पवेलियन फर्किएकी थिइन।
युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए । पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको नेपाल यसअघि भएको पहिलो खेलमा १२ रनले पराजित भएको थियो।