युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पराजित भएको छ। आज भएको तेस्रो खेलमा ६ विकेटले पराजित सँगै नेपालले सिरिज समेत गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालल दिएको १०० रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि केभिन अविनोले नटआउट ४२ रन जोडिन्।
बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रन जोड्यो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् ।
त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन् भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले चार रन जोड्दा रोमा थापा र डोली भट्टले समान तीन–तीन रन जोडिन् । सबनम राई र इन्दु बर्माले एक–एक रन जोडिन्।
बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई–दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक–एक विकेट लिए।
यसअघि युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको थियो।