नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्। रोहितलाई उपकप्तान नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार जनाएको छ।
क्यानका अनुसार रोहितलाई अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि उपकप्तान बनाइएको हो।
यसअघि क्यानले तत्कालिन उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई वर्गीकरणको विषयमा सेतोपाटीमा आफ्नो असन्तुष्टि व्यक्त गरेकै आधारमा उपकप्तानबाट हटाएको थियो।
१९ वर्षीय रोहितले नेपालका लागि १७ एकदिवसीय र १६ टी-२० खेलिसकेका छन्। रोहितले सन् २०१८ मा राष्ट्रिय टिममा डेब्यू गरेका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले यही महिनाको अन्तिममा अमेरिकामा खेल्दैछ। यसका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ।
१५ सदस्यीय टिममा सन्दीप लामिछाने कप्तानमा निरन्तर छन् भने ज्ञानेन्द्र मल्ल यसपटक पनि समावेश छैनन्।
टिममा विनोद भण्डारी फर्किएका छन्। यस्तै किशोर महतो र सुनील धमलाले पनि मौका पाएका छन्।
नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, सोमपाल कामी, करण केसी, विक्रम सोव, किशोर महतो, सागर ढकाल ।
अमेरिकाको टेक्सासस्थित पियरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ। सिरिज २५ देखि असार ५ सम्म हुनेछ।
तीन देशबीचको यो अन्तिम त्रिकोणात्मक सिरिज हो। यसअघि तीन देशसम्मिलिन सिरिज नेपाल र ओमानमा भइसकेको छ।
सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे तथा स्थानीय समयअनुसार विहान १०:३० बजे खेल सुरु हुनेछ।
सिरिजमा नेपालले दुवै देशसँग दुई दुई खेल गरी जम्मा चार खेल खेल्नेछ।
खेल तालिका
नेपाल भर्सेस ओमान : ९ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)
नेपाल भर्सेस अमेरिका : ११ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)
नेपाल भर्सेस ओमान : १४ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)
नेपाल भर्सेस अमेरिका : १५ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)