भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को प्लेअफ समिकरण पुरा भएको छ।
समूह चरणको अन्तिम तथा निर्णायक खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित भएसँगै रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा पुग्ने अन्तिम टोली बन्यो।
निर्णायक खेलमा दिल्ली मुम्बईसँग ५ विकेटले पराजित भएसँगै बेंगलोर १६ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा पुगेको हो ।
जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा ओपनर ईशान किशनले सर्वाधिक ४८ रन बनाए। युवा ब्याटर डेवाल्ड ब्रेभिसले ३७ रन जोड्दा टिम डेविडले ३४ तथा तिलक बर्माले २१ रन बनाए।
रमनदीपसंहले १३ रन बनाउँदा कप्तान रोहित शर्मा २ रनमा आउट भए।
दिल्लीका लागि शार्दुल ठाकुर र एनरिच नोर्कियाले २-२ तथा कुलदीप यादवले १ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनायो। उसका लागि रोभम्यान पावेलले सर्वाधिक ४३ रनको योगदान दिए। ऋषभ पन्तले ३९ रन बनाउँदा ओपनर पृथ्वी शाले २४ रन जोडे।
दिल्लीका डेभिड वार्नर ५ रनमा आउट हुँदा मिचेल मार्श गोल्डेन डक भए। शरफराज खानले १० रन बनाउँदा अक्षर पटेल १९ रनमा अविजित रहे ।
मुम्बईका लागि जस्प्रित बुमराहले सर्वाधिक ३ विकेट लिए। रमनदीप सिंहले २ तथा मयंक मारकान्डे र ड्यानियल साम्सले समान १-१ विकेट लिए ।
यदि दिल्ली यस खेलमा विजयी भएको भए १६ अंकका साथ नेटरनेटमा बैंलोरलाई पछि पार्दै क्वालिफायर खेल्ने समिकरण थियो।
तर मुम्बईसँगको हारले १४ अंकमै रोकियो ।
यद्यपि यो जितसँगै मुम्बई १४ खेलमा ४ मा जित र १० मा हार सहित पुछारमा रह्यो।
आफू अनुकुल नतिजा आएपछि बेंगलोर १६ अंकका साथ एलिमिनेटरमा लखनऊसँगको भेट पक्का गरेको हो ।
आइपिएल अन्तर्गत पहिलो क्वालिफायरमा मंगलबार शीर्षस्थानको गुजरात टाइटन्सले दोस्रो स्थानको राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरको विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
बुधबार हुने एलिमिनेटरमा बेंगलोरले लखनऊ सुपर जायन्ट्सको सामना गर्नेछ।