नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिग घोषणा गर्दै अन्य लिगलाई मान्यता नदिने बताएपछि एभरेस्ट प्रिमियर लिग (इपिएल) र यसमा आबद्ध टिमहरूले विरोध गरेका छन्।
‘हामी र हाम्रा सबै सरोकारवालाहरू पूर्णरूपमा निराश र स्तब्ध भएका छन्,’ इपिएलले भनेको छ।
साथै इपिएललाई मान्यता दिन इपिएलका संस्थापक आमिर अख्तरसहित ६ वटै टिम व्यवस्थापकले माग समेत गरेका छन्।
क्यान निलम्बनको बेला र कोडिभ-१९ महामारीको बेलमा क्रिकेट आयोजना गरेर नेपाली क्रिकेट विकासमा योगदान दिएको इपिएलको दाबी छ।
‘यति धेरै मिहिनेत पछि इपिएल २०२२ लाई स्वीकृत नगरी क्यानले नेपाली कर्पोरेट क्षेत्रलाई एकदमै गलत सन्देश दिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘इपिएल र यसका ६ फ्रेन्चाइज टिमको भविष्य अचानक अन्धकार भएको छ। हामी क्यानको पछिल्लो निर्णयलाई समर्थन गर्दनौं र क्यानबाट हुने कुनै पनि खेलकुद कार्यक्रमलाई पूर्ण बहिष्कार गर्नेछौं।’